उपाधी विजेता मनाङ मर्स्याङ्दी अन्तिम खेलमा पराजित

title
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधी विजेता मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा पराजित भएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसंग एक शुन्य गोलअन्तरले पराजित भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फ्रेन्ड्सलाई जीत दिलाउन विकास लामाले निर्णायक गोल गरे ।

खेलको निर्धँरीत ९० मिनेट गोलरहित बराबरीमा सकिएपनि खेलको इन्जुरी समयमा विकासले हेड गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाएका हुन् । लिगको अन्तिम खेलमा फ्रेन्ड्ससंग पराजित भएसंगै मनाङको अपराजित रहेर लिग जित्ने योजना अधुरो बनेको छ । अघिल्ला १३ खेलमा लगातार जित निकालेको मनाङ अन्तिम खेलमा भने पराजित भएको हो ।

मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितेको थियो । उपाधिसंगै मनाङले ५० लाख नगद पुरस्कार पाएको छ । यता, लिगको उपविजेता बनेको संकटाले ३५ लाख तथा तेस्रो स्थानको थ्री स्टारले २५ लाख प्राप्त गर्यो ।