उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको पहिलो प्राथमिकताः ऊर्जामन्त्री पुन

title
सोमवार, माघ ७, २०७५

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित चार्टड एकाउन्टेन्टहरुको सम्मेलनमा मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले भारतलाई गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोडको विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना पनि अघि सार्नु भयो ।

नेपाल–भारतबीच विद्युत आदानप्रदान सम्बन्धि सम्झौंता नै गरेर सरकारले आफ्नो कामलाई अघि बढाएको मन्त्री पुनको भनाई छ । मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको पनि स्मरण गराउनु भयो । कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले चार्टड एकाउन्टेन्टहरुलाई व्यवसायिक बन्न आग्रह गर्नु भयो । राष्ट्रको आवश्यकता अनुसार लेखा परीक्षणको कामलाई अघि बढाउन चार्टड एकाउन्टेन्टहरु लाग्नुपर्ने उहाँको भनाई छ । महालेखा परीक्षक दंगालले दीगो विकास लक्ष्य हासिल हुने गरी लेखा परीक्षणको कामलाई अघि बढाउन पनि चार्टड एकाउन्टेन्टहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।