जोडिनुहोस
  • होमपेज
  • एआई नीति सुधारका लागि सरकारलाई क्यानको १० बुँदे सुझाव

एआई नीति सुधारका लागि सरकारलाई क्यानको १० बुँदे सुझाव

काठमाडौं। नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घले सरकारलाई १० बुँदे सुझाव दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई क्यानको टोलीले सुझाव दिएको हो ।

यस्ता छन् १० बुँदा

१. एआईको स्पष्ट परिभाषा : प्रतिवेदनमा एआईको स्पष्ट परिभाषा नभएकोले नेपालको सन्दर्भमा लागू हुने एक स्पष्ट एआई परिभाषा राख्नुपर्ने ।

२. शब्दकोश : एआई, मेशिन लर्निङ, डेटा प्राइभेसी जस्ता प्राविधिक शब्दहरूको परिभाषा समेटिएको शब्दकोश समावेश गर्नुपर्ने ।

३. क्षेत्रीय आवश्यकताहरू : स्वास्थ्य, कृषि, विपद जोखिम व्यवस्थापन जस्ता विविध क्षेत्रीय आवश्यकताहरूमा एआईको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ।

४. बहुक्षेत्रीय सहकार्य : शैक्षिक संस्था, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था तथा स्थानीय सरकारहरूको भूमिकालाई स्पष्ट पार्दै बहुक्षेत्रीय सहकार्यलाई जोड दिनुपर्ने ।

५. कानुनी ढाँचा र डेटा संरक्षण : एआईका लागि एक सशक्त कानुनी ढाँचा र डेटा सुरक्षा नीति बनाउनुपर्ने ।

६. डेटा व्यवस्थापन : एआई सम्बन्धी डेटा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता प्रदान गर्नुपर्ने । डेटा क्लिन्जिङ, डेटा सेफ्टी, डेटा प्राइभेसी जस्ता विषयमा प्रशासनिक स्पष्टताको खाँचो छ ।

७. अन्तरदेशीय डेटा साझेदारी : अन्तरदेशीय डेटा साझेदारी सम्बन्धी व्यवस्था गर्नुपर्ने ।

८. डेटा सेन्टर : नेपालको आफ्नै स्वतन्त्र र सक्षम डेटा केन्द्र स्थापना गर्नुपर्ने ।

९. लगानी : राष्ट्रिय एआई इकोसिस्टममा लगानी गर्नुपर्ने । मानव संसाधनमा लगानी गर्नुपर्ने, छात्रवृत्तिलाई प्रोत्साहन गर्नुपर्ने र विश्वविद्यालयहरूमा एआई केन्द्रहरूको स्थापना गर्नुपर्ने ।

१०. स्थानीयकरण : नेपाली भाषा र नेपालका विशेष आवश्यकताहरूको लागि एआई उपकरणहरूको विकास गर्नुपर्ने ।

उक्त सुझाव ‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी, प्रा डा सुदन झा, अधिवक्ता दिक्षा राउत र गंगा भण्डारीको समीक्षात्मक अध्ययन गरेर सकारलाई दिएको क्यानले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका