एउटा खेल नजिते पनि नेपाल दोस्रो चरणमा

title
बुधबार, कार्तिक २८, २०७५

काठमाडौं । टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध १–१ को बराबरी खेल्दै दोस्रो चरणमा पुग्न सफल भएको छ । एशियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको थियो । तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन । तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्ट दुई टिमको रुपमा नेपालले दोस्रो चरणमा प्रवेश पाएको हो ।

म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालले कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो । उनले १७ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनुप¥यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् ।

सुरुवाती दुई खेलमा पनि भारत र म्यानमारसँग नेपालले ३ खेलमा ३ अंक जोड्दै छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको हो । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो । भारत र म्यानमार पनि समूहमा शीर्ष दुई टोलीमा पर्दै छनोट भएका हुन् । सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।

भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।