एक महिनादेखि उत्तर कोरियाली राजदूत बेपत्ता

title
शुक्रबार, पुस २०, २०७५

एजेन्सी । उत्तर कोरियाली राजदूत जो सोङ–गिल इटालीबाट बेपत्ता भएका छन् ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीले इटालीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जानकारी दिएका हुन् । उनी पश्चिमा कुनै देशको शरणमा गएको हुनसक्ने अनुमान गरिएको छ । बेपत्ता भएका राजदूत उत्तर कोरियाली उच्च ओहोदाका अधिकारीका छोरा पनि हुन् ।

दक्षिण कोरियाली सांसद किम मिन–कीले जनाएअनुसार जो सोङ–गिल करिब एक महिनाअघि नै रोमस्थित दूतावासबाट बेपत्ता भएका हुन् । उनको कार्यकाल नोभेम्बर महिनामा समाप्त हुने भए पनि त्यसअघि नै उनी बेपत्ता भएको बताइएको छ । दक्षिण कोरियाली गुप्तचर निकायले बेपत्ता राजदूत अहिलेसम्म कसैको सम्पर्कमा समेत नरहेको जनाएको छ ।

यसैबीच इटलीको विदेश मन्त्रालयले उत्तर कोरियाका उच्च कूटनीतिज्ञले शरण मागेको बारे कुनै जानकारी नरहेको जनाएको छ । उनी सन् २०१७ को अक्टोबरमा इटालीको राजदूत नियुक्त भएका थिए ।