एक महिनामा १३ जना बलात्कारको शिकार

title
सोमवार, भदौ १८, २०७५

काठमाडौँ । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनको प्रतिवेदनले एक महिनामा १३ किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।  सञ्चारिकाले गत मङ्सिर १ देखि २९ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमन प्रतिवेदनले एक महिनामा किशोरी तथा महिलामाथि सो घटना भएको देखाएको छ भने अनुगमन अवधिमा बलात्कारसम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल अङ्गे्रजी दैनिकहरू समेटिएका थिए ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो जसमा बलात्कार, यौन दुव्र्यबहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी र राजनीतिक रहेका थिए ।

त्यस्तै, सो एक महिनामा हत्याका आठ घटना भएका थिए भने हत्यासम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारको एक घटना भएको थियो । सात समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकार हननको एउटा घटना थियो भने यससम्बन्धी ५३ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

त्यसैगरी, आर्थिक अधिकारसँग सम्बन्धित एउटा घटना भएको थियो भने १४ वटा समाचार, विचार र सम्पादकीय छापिएको थियो । यस अवधिमा मानव बेचबिखनसम्बन्धी १५ र राजनीतिक अधिकार हननसम्बन्धी २० वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ ।

त्यस्तै, परम्परागत र धार्मिक हिंसासम्बन्धीे एउटा घटना थियो भने १९ वटा समाचार सामग्री प्रकाशित थिए । बोक्सी आरोपका दुई समाचार सामग्री प्रकाशित भएको थियो । घरेलु हिंसासम्बन्धी नौ समाचार र एउटा घटना प्रकाशित भएको थियो । महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा १३ वटा समाचार छापिएका थिए ।

सञ्चारिकाले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैङ्गिक हिंसा भइरहेका छन् ? ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दै आएको छ ।