एक सिंगे गैंडा संरक्षणका लागि फुटबल

title
बिहिबार, कार्तिक १५, २०७५

नवलपरासी । एकसिंगे गैंडा संरक्षण गर्नुपर्ने सन्देश फैलाउन पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । उक्त प्रतियोगिता बिहीबारदेखि कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२,कोल्हुवामा सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । एकसिंगे गैंडा संरक्षणका लागि वर्षेनी चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा विजेताले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ । गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकुद र पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्देश्यले प्रतियोगिता आयोजर्ना गरिएको आयोजक संस्थाले जनाएको छ ।