एथ्लेटिक्स संघको निर्वाचन भदौ २२ मा हुने

title
बुधबार, साउन ३०, २०७५

काठमाडौं । नेपाल एथ्लेटिक्स संघको निर्वाचन स्थगित भएको छ । संघले काठमाडौंमा पत्ररकार सम्मेलन गरी निर्वाचन भदौ २२ गतेसम्मको लागि सरेको जानकारी दिएको हो । संघको सोमबार बसेको कार्यसमितिको बैठकअनुसार मंगलबार हुने भनिएको नयाँ कार्यसमितिको निर्वाचन अब भदौमा हुने भएको हो ।

एसियन गेम्सको तयारीमा रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निर्वाचन रोक्न पत्र पठाएपछि आफूहरूले निर्वाचन रोकेको संघका अध्यक्ष राजिवविक्रम शाहले बताए । उनले भने, ‘युवा तथा खेलकुद मन्त्री, राखेपका सदस्य सचिव र अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिमा निर्वाचन गराउनु पर्ने हुँदा निर्वाचन सार्नुपरेको हो ।

एसियन गेम्सलाई मध्यनजर गर्दै निर्वाचन पछिको लागि सारेको हो । यद्यपि राखेप भन्छ– भने हामी जुनसुकै समयमा पनि निर्वाचन गराउन सक्छौं ।’ गत जेठमा बसेको संघको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

संघले बुधबारै एसियाड टोलीलाई बिदाई बिदाई गरेको छ । नेपाली एथलेटिक्स टोली २२ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले एक महिनाअघिबाट भारतको कोलकत्तामा विशेष प्रशिक्षण गरेको थियो । नेपाली टोली सोमबार साँझ नेपाल आइपुगेको थियो । नेपाली खेलाडीहरुमा यामसाजन सुनार, गोपीचन्द्र पार्की, कृष्ण बस्नेत, सोम बहादुर कुमाल, सरस्वती भट्टराई र विश्वरुपा बुढा छन् ।

यामले १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछ । सोमबहादुर कुमालले ४०० र ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछ । यस्तै गोपीचन्द्र पार्की र कृष्ण बस्नेतले म्याराथनमा, सरस्वती भट्टराईले ८०० र १५ सय मिटर र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्सका खेलहरु २५ अगस्टबाट हुनेछ ।