एनएनआइपीए खेलाडी सम्मान पुस दोस्रो साता

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलसँग सम्बन्धित खेलाडीलाई हरेक बर्ष प्रदान गर्दै आएको बर्षको उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका खेलाडी परेका छन । पुष १३ गते हुने अवार्ड कार्यक्रममा २०७४ सालमा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २९ खेलका खेलाडीलाई सम्मान गर्न लागिएको हो ।

यसअघि एनएनआइपीले ३५ खेलका खेलाडीलाई सम्मान गर्दै आएको थियो । तर यो बर्ष सो संख्या घटाएर २९ मा पु¥याएको जानकारी दिएको छ । २९ खेलबाट एक एक खेलाडीलाई बर्ष उत्कृष्ट अवार्ड दिइनेछ । उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघिका संस्करणमा जस्तै यसपटक पनि अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडीको पनि घोषणा गरिनेछ । जसको विजेताले २५ हजार रुपैयाँ पाउनेछ । यस्तै एक जना उत्कृष्ट खेल पत्रकारलाइ पनि सम्मान गरिनेछ । जसको पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ । यसपटकको पुरस्कार कार्यक्रम पाटन दरवार स्क्वायरमा गरिनेछ ।

फुटबल, पौडी, भलिबल, टेबलटेनिस, शुटिङ, बक्सिङ, भारत्तोलन, लन टेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आइटिएफ तेक्वान्दो, ब्याटमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स, गल्फ र कुस्तीका खेलाडीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

अवार्डका लागि आयोजकले तीन जनाका छनोट कमिटी बनाएको छ भने २०७४ सालमा भएको राखेप च्याम्पियनसिपमा समावेश भएका खेलबाट उत्कृष्ट खेल छनोट गरिएको हो । यसमा क्रिकेट र प्याराग्लाइडिङ नभएकाले यो अवार्डको सूचिमा दुबै खेल अटाएका छैनन् । आयोजकले अर्को बर्षदेखि प्याराग्लाइडिङलाई पनि समावेश गर्ने जानकारी दिएको छ ।

त्यस्तै, सम्मान कार्यक्रम आयोजनाको सम्पुर्ण जिम्मेवारी ललितपुर महानगरपालिकाको वडा नम्बर १६ ले लिएको छ । यसपटक सम्मान कार्यक्रमको गुडविल एम्बेसडरका रुपमा गायक दीपक बज्राचार्य पनि रहेका छन् । कार्यक्रमलाई ललितपुर उधोग वाणिज्य संघले पनि सहयोग गर्ने भएको छ ।