
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाजले पहिलो जित हात पारेको छ । कर्णाली याक्सलाई तीन विकेटले हराउँदै काठमाडौंले जित हात पारेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो । एक सय ५० रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १९ ओभर तीन बलमा सात विकेट गुमाएर लक्ष्य भेटायो । काठमाडौंलाई अन्तिम १२ बलमा २१ रन आवश्यक भएको अवस्थामा तीन बल बाँकी छँदै जित हात पारेको हो ।
कर्णालीका लागि शिखर धवनले ५१ बलमा ७२ रनको शानदार पारी खेले । उनको पारीमा पाँच छक्का र चार चौका सामेल थियो । यस्तै चाडविक वाल्टनले १५ बलमा २१ रन बनाए ।
बलिङतर्फ काठमाडौं गुर्खाजका लागि जेरार्ड इरास्मसले दुई विकेट लिए भने करण केसी, दीपेश कँडेल र नेथन स्वटरले समान एक विकेट लिए ।
काठमाडौंका लागि जेरार्ड इरास्मसले २८ बलमा ३८ रन बनाए । यस्तै माइकल लेभिटले १९ बलमा २२ रन बनाए । काठमान्डुका कप्तान करण केसीले १० बलमा १८ रनको आक्रामक पारी खेले ।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले एक विकेट लिए । नन्दन यादव, गुल्सन झा, जीसन मक्सूद र विपीन शर्माले पनि समान एक विकेट लिए ।