एन्फाको साधारणा सभाले विधानमा के के संशोधन गर्यो

title
बिहिबार, साउन ३१, २०७५

चितवन । चितवनमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले विधान संशोधन गरेको छ । साधारणसभाले आर्थिक, कर्मचारी, एन्फा सञ्चालन नियमावली र लिग सञ्चालनसँग सम्बन्धित विषयहरुमा निर्णय गरेको हो ।

विधान मस्यौदामा प्रादेशिक संरचना निर्माण गर्ने, एन्फाको मतधिकार सदस्यमा १३ मत थप गर्ने निर्णय साधारण सभाले गरेको छ । जसअनुसार प्रदेशमा ५ मत थप गरेको हो । प्रदेश नम्बर ५ मा १ मत, प्रदेश ६ मा २ मत र प्रदेश ७ मा २ गरी प्रदेशमा कुल ५ मत बृद्धि गरेको हो । त्यस्तै, क्लबसंख्या पनि थप गरेको छ । सी क्लबको संख्या बृद्धि गर्दै १८ पु¥याएको छ भने मतसंख्या पनि बढाएर ९ पु¥याएको छ । त्यस्तै, बी क्लबको संख्या बढाएर १६ पु¥याएको छ भने मताधिकार पनि बढाएर ११ पु¥याएको एन्फा प्रवक्त किरण राईले जानकारी दिएका छन् ।

साधारणसभापछि पत्रकारसँग बोल्दै प्रवक्ता किरण राईले भने, ‘स्थायी समिति हामीले वृद्धि गरेका छौं । बैठक सम्बन्धि केही प्रावधानहरू केही सुधार गरेका छौ । आगामी दिनमा हामीले जे कार्य गर्छौ नीतिगत रुपमा हामी स्पष्ट भएका छौ । अब हामीले नीतिगतरुपमा ब्यवस्था गरिसकेपछि कार्यन्वयनतर्फ जान्छौं ।’ यो विशेष साधारणसभा एन्फाको निम्ति विशेष र ऐतिहासिक हुने प्रवक्ता राईले दाबी गरे ।

त्यस्तै, एन्फाको विधान संशोधन नगर्न आग्रह गर्दै साउन २८ गते राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएको थियो । राखेपले खेलकुदको नयाँ ऐन संशोधनको अन्तिम चरणमा पुगेको र खेलकुद संघहरूको पनि ऐन बनाउनुपर्ने भएको भन्दै एन्फाको विधान संशोधन नगर्न पत्र पठाएको भएपनि एन्फा प्रवक्ता राईले पत्रको आसयअनुरुप विधान संशोधन गरेको दाबी गरे । राखेपको खेलकुद ऐनसँग एन्फाको नयाँ ऐन बाझिएमा एन्फाको संशोधित बुँदाहरु खारेज हुने प्रवक्ता राईले जानकारी दिए ।

प्रदेश संरचनामा जाने प्रस्ताव अनुमोदन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ औं विशेष साधारण सभा चितवनमा बुधबार सम्पन्न भएको हो । सात प्रदेश समिति, एन्फाको मताधिकार संख्यामा बद्धि, बी, सी डिभिजन क्लबमा बृद्धि, जिल्ला, प्रदेशसहितका लिग आयोजना गर्ने प्रस्तावलाई समेत एन्फाको विशेष साधारण सभाले पास गरेको छ ।

खेलाडीलाई बोनस
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध १–० ले पराजित भएको नेपाली यू–२३ टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका छन् ।

मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताको दावेदार मानिएको जापानविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बुधबार चितवनमा जारी १७ औं विशेष साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष शेर्पाले टोलीको हौसला बढाउन आफूले बोनस रकम घोषणा गरेको बताए ।

उनले प्रतियोगिताका अन्य खेलमा पनि बोनस रकम राखेको जानकारी दिए । उनले भने– ‘मैले टोली इन्डोनेसिया जानुअघि बोनस घोषणा गरेको थिएँ । जापानसँग ३–० अन्तरले पराजित भएमा १ सय डलर दिने भनेको थिएँ । खेलाडीहरुले राम्रो खेले र १–० को नतिजामा रोक्न सफल रहे । उनीहरुले अब वाचाअनुरुप बोनस प्राप्त गर्नेछन् ।’

अब नेपाली टोलीले भियतनामसँग जित हात पारे १ सय ५० र पाकिस्तानलाई हराए १ सय डलर पाउनेछन् ।’ नेपालले प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत बिहिबार भियतनामको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्नेछ । अर्को चरणमा पुग्न नेपाललाई समूहको शीर्ष २ स्थान अथवा ६ समूहमध्य चार उत्कृष्ट तेस्रो स्थानको टोलीमा पर्नुपर्नेछ ।