एन्फा अध्यक्षविरुद्ध ६ आरोप

title
मङ्लबार, अशोज ९, २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को गएको वैशाख २२ गते भएको निर्वाचनका क्रममा वर्तमान कार्यसमितिले व्यापक आर्थिक अनियमितता गरेको आरोप दक्षिण एसियाली फुटबल संघ (साफ) का उपाध्यक्ष मणि कुँवरले लगाएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कार्यसमितिको अनियमितालाई ६ बुँदामा प्रस्तुत गरेका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङलगायतलाई निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, मतदातालाई पैसा बाढेको, मतदातालाई भारत भ्रमण गराएको लगाएको आरोप लगाएका छन् । त्यस्तै मतदातालाई निर्वाचन लगत्तै युरोप भ्रमणमा लागेको, अदालतलाई समेत लेनदेनमामा पार्न खोजेको र निर्वाचनका समयमा सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको आरोप लगाएका छन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपमा भएको प्रमाणसहित फिफा र एएफसीमा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी दिए । उनले यो उजुरु सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्मा समेत पेश गर्ने बताए ।

एन्फाको नयाँ नेतृत्वका लागि गत वैशखा २२ गते निर्वाचन भएको थियो । निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानल नै मतले विजयी भएको थियो । निर्वाचन विधान विपरित भएको भन्दै कुँवरले निर्वाचनको एक दिन अघि पत्रकार सम्मेलनको आयोजना गरेर उमेदवारी फिर्ता लिएका थिए ।

कुँवरले विश्व फुटबल महासंघ (फिफा) को ‘कोड अफ इथिक्स’को आर्टिकल नम्बर २० र २१ तथा एएफसीको ‘डिसिप्लेनरी एण्ड इथिक्स कोड’ को आर्टिकल नम्बर ६८ विपरितका काम भइरहेको जानकारी आफूलाई भएपनि यथेष्ट प्रमाण नभएका कारण एन्फा निर्वाचनबाट नाम फिर्ता लिनुपरेको बताएका छन् ।

उनले यसअघि पनि एन्फा उपाध्यक्ष पाण्डेलाई फिफा कंग्रेसमा उपस्थित गराएको विषयमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा ज्ञापनपत्र बुझाएको बताएका छन् । उनले निर्वाचनका दौरान भएको आर्थिक अनियमितताबारे छानबिन गर्न खेलकुद मन्त्रालयलाई आग्रहसमेत गरेका छन् ।