एपीएफ महिला राष्ट्रिय लिग च्याम्पियन

title
बुधबार, साउन १६, २०७५

काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली नेपाल एपिएफ क्लब उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै एपीएफ लिग च्याम्पियन बन्ने सफल भएको हो ।

एपीएफ लिगमा अपराजित रहेर महिला लिगको च्याम्पियन बन्न सफल भयो । जितसँगै एपिएफले चार खेलबाट १२ अंक जोड्न सफल भयो । एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन् ।

आर्मीका लागि पुनम जर्घा मगरले एक गोल फकाईन् । सुस्त शुरुवात भएपनि एपीएफले दोस्रो हाफमा सुधारिएको खेल पस्केको थियो । एपीएफकी सावित्राले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफको ४९ औं मिनेटमा आर्मीकी पुनम जर्घा मगरले गोल फर्काएपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।

तर, गोल मेसिनका रुपमा परिचित सावित्राले ५४ औं मिनेटमा अर्काे गोल गर्दै एपीएफलाई पुनः २–१ को अग्रता दिलाइन् । त्यस्तै, खेलको ८२ औं मिनेटमा सावित्राले ह्याट्रिक गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाइन् ।

सावित्राको यो लिगमा तेस्रो ह्याट्रिक हो । तीन ह्याट्रिकसँगै सावित्राले लिगमा आफ्नो गोलसंख्या १२ पु¥याइन् । सावित्राले यसअघि रौतहटविरुद्ध ४ गोल र काठमाडौंविरुद्ध ५ गोल गरेकी थिइन् ।

पुलिसविरुद्धको खेलमा भने सावित्रा गोल गर्न सफल भइनन् । च्याम्पियन बनेसँगै एपीएफले २ लाख रुपैया प्राप्त गर्न सफल भयो । उपविजेता बनेको आर्मीले १ लाख र तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैया प्राप्त ग¥यो ।

पुलिसले लिगको अन्तिम खेलमा काठमाडौंमाथि ९–० को फराकिलो जित निकाल्न सफल भएको थियो । तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको लिग गत साउन ७ गतेबाट शुरु भएको थियो ।