एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान

title
आइतवार, फाल्गुन ५, २०७५

सरकारले फागुन ७ गते ६९औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ ।

६९औं प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन देशभरका सबै सरकारी तथा निजी संचार माध्यामहरुलाई प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न आह्वान गरेको हो ।

त्यसैगरी उपसमितिले छापा संचार माध्यामहरुलाई सो दिन प्रजातन्त्र दिवससँग सान्दर्भिक लेख, रचनालाई उच्च प्राथमिकता दिई प्रकाशन गर्न पनि आग्रह गरेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सैनिक मंच, टुँडिखेलमा आयोजना हुने विशेष समारोह कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने निर्णय पनि गरिएको उपसमितिमा सदस्य सचिव एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिनु भयो ।

उपसमितिले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनु भएका मूल समारोह समितिले गरेको निर्णयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव गुरुङले बताउनु भयो ।

फागुन ७ गते सैनिक मंच, टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनु हुनेछ भने समारोहमा विशेष अतिथिको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रजातन्त्र दिवस मूल समारोह समितिको सदस्यको रुपमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुनेछ । विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम पनि तय गरिएको छ ।