एम्बाप्पे चम्किएपछि १४ मिनेटमा चार गोल

title
सोमवार, अशोज २२, २०७५

एजेन्सी– विश्व विजेता फ्रान्सका स्टार युवा खेलाडी केलियन एमबाप्पेले क्लब प्रतिस्पर्धामा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

एमबाप्पेले फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन, पिएसजीलाई जिताउने क्रममा चार गोल गरे । यस्तै नेइमारले एक गोल गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई ५–० ले हराएको हो । यो खेलमा दुवै टोली पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थिए । नवौँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले गोल गरेर पिएसजीलाई सुरुवाति अग्रता दिलाए ।

३२ औँ मिनेटमा किमपेम्बे सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । पहिलो हाफको इन्जुरी समयमा तोउस्टार्ट दोहोहो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लियोन पनि १० खेलाडीमा सीमित भयो ।

दोस्रो हाफमा पिएसजीले थप चार गोल गर्यो र सबै गोल एमबाप्पेले नै गरेका हुन् । उनले ६१, ६६, ६९ र ७४ औँ मिनेटमा गरी चार गोल गरेका हुन् । पिएसजीले लिगमा लगातार ९ खेलमा जित निकालेको छ र उसको २७ अंक भएको छ ।