नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

title
सोमवार, भदौ ४, २०७५

काठमाडौ । भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली अभ्यासका लागि सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।

नेपाली टोलीले श्रीलङ्कामा रहंदा तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । श्रीलङ्का प्रस्थान गर्नुअघि नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित बिदाई गर्नुभएको थियो । उहाँले प्रतियोगितामा विजयी बन्दै एशियाकप खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै कप्तान पारस खड्काले प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । छोटो समय भए पनि नयाँ ब्याटिङ प्रशिक्षकबाट नयाँ प्राविधिक कुरा सिक्ने मौका पाएको बताउँदै कप्तान खड्काले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्न सके प्रतियोगिता जितिने बताउनुभयो ।

एशिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाईटेड अरब इमिरेटस(युएइ), हङ्कङ, सिङ्गापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् भने उक्त प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एशिया कपमा सहभागिता जनाउन पाउनेछ ।