एसियाली खेलकुदको महाकुम्भ : अाज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा नेपालको प्रतिस्पर्धा

title
आइतवार, भदौ ३, २०७५

काठमाडौं । १८ औं एसियाली खेलकुद एसियाड इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा उद्घाटन गरिएको छ । झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको समूहले उपस्थित दर्शकलाई मनोरञ्जन गरेका थिए ।

यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए । एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक दिनेगरी आयोजना भएको उद्घाटन समारोहको रमाईलो क्षणपछि सहभागी ४५ देशका खेलाडीले मार्चपास गरेका थिए ।

मार्चपासमा नेपालका तर्फबाट दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेता भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोकेका थिए । मार्चपासमा नेपालका झण्डै सय जना उपस्थित थिए । एसियाली खेलकुदमा यसपटक नेपालबाट एक सय ८५ खेलाडी सहभागी छन् भने एक सयको हाराहारीमा पदाधिकारी पनि जकार्ता पुगेका छ ।

मार्चपासपछि एसियाडको आधिकारीक गीत गाएकी गायिका मेराह बिनटाङले प्रस्तुति दिएकी थिइन् । प्रतियोगितामा फुटबलका खेलहरु भने यसअघि नै शुरु भइसकेका छन् । आइतबारदेखि विभिन्न खेलको प्रतिस्पर्धा शुरु हुँदैछ ।

एसियाड अन्तरगत आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा सहभागिता जनाउँदैछ । उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो ।

अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । अघिल्लो दुई खेलमा पराजित भएको पाकिस्तानलाइ पनि त्यही मौका रहनेछ ।

ब्याडमिन्टनतर्फ पुरुषको टिम इभेन्टसमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् ।

यस्तै महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङतर्फ महिलाको साब्रे व्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्नेछिन् ।

यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिष्पर्धा गर्नेछिन् ।