एसियाली खेलकुदमा नेपाली टोली तेक्वान्दोमा पदकबिहिन

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खाली हात फर्कने भएको छ । एसियाली खेलकुदअन्तर्गत बिहिबार भएको अन्तिम दुई खेलाडीको प्रतिस्पर्धा सकिएसंगै नेपाल पदकबिहिन भएर स्वदेश फर्किने भएको हो ।

बिहिबार पुरुष फाइटतर्फ ६८ केजी मुनीको तौल समूहमा नेपालका ज्ञानेन्द्र हमालले प्रि(क्वाटरफाइनलमा स्थान बनाए पनि त्यसभन्दा अघि बढ्न सकेन ।

पहिलो चरणमा भुटानका जिग्मे वाङ्चकलाई ३९–१७ ले हराएर अन्तिम १६ मा पुगेका ज्ञानेन्द्र मलेसियाका खेलाडी रोजाली रोजाईमिसंग ३०–२ अंकले पराजित भए ।

फाइटकै महिलातर्फ ४९ केजी मुनीको तौल समूहमा अस्मिता खड्का ईरानकी खेलाडी नाहिद कियानीचान्देहसंग ४३–४ अंकले पराजित भईन् । एसियन गेम्समा तेक्वान्दोमा नेपालबाट १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो हो । नेपालले हालसम्म तेक्वान्दोमा १३ कास्य र १ रजत जितेको छ । नेपालले पाएको रजत पदक सबैभन्दा ठुलो पदक हो ।

जुन तेक्वान्दोकी सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा जितेकी थिइन् । एसियाली खेलकुदमा नेपालबाट दुई पदक जित्ने खेलाडी तेक्वान्दो कै दिपक बिष्ट हुन् ।