एसियाली फुटबल, नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाब

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौं । १८ औं संस्करणको एसियाली खेल अन्तर्गतको फुटबलमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेसँगै दोस्रो चरण प्रवेशको सम्भावना क्षीण बनेको छ । पहिलो खेलमा जापानसँग पराजय भएको नेपाल दोस्रो खेलमा विहीबार भियतनामसँग २–० गोल अन्तरले पराजित भएको हो ।

अब तेस्रो खेलमा नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाब सिर्जना भएको छ । पहिलो र दोस्रो खेलमा पराजय व्यहोरेसँगै नेपालको सम्भावना न्यून बनेको हो । अब समूह चरणको अन्तिम खेलमा जापान र भियतनाम तथा नेपाल र पाकिस्तानबीच खेल हुनेछ । जापान र भियतनामबीचको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराउन सके नेपालको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । समूहको तेस्रो टोली बन्न सके त्यसपछि अघिल्लो चरणको सम्भावना रहन्छ । ६ समूहबाट ४ वटा उत्कृष्ट तेस्रो टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

विहीबार भएको आफ्नो दोस्रो खेलमा भियतनामसँग नेपालको प्रदर्शन फितलो रह्यो । पहिलो खेलमा जापानसँग एक शुन्यले पराजित भएको नेपालले भियतनामसँग पनि राम्रो खेल्न सकेन । पहिलो आधा घण्टा नेपालले विपक्षीलाई गोलरहित बराबरीमा रोकेका भएपनि खेलको ३४ औं मिनेटमा भियतनामले अग्रता लियो ।

नेपाली डिफेन्सको कमजोरीका फाइदा उठाउदै गुयन अनले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसका विपरित भियतनामले नेपालमाथि दबाव कायमै राख्यो । ६४ औं मिनेटमा फान भानले भियतनामका लागि गोल गर्दै अग्रता दुई शुन्यमा पु¥याए । त्यसपछि नेपाल खेलमा फर्कन सकेन । दोस्रो हाफको अन्तिम तिर नेपालले दुई वटा राम्रा अवसर पाए पनि गोल गर्न भने सकेन ।

यता पाकिस्तानले पनि लगातार दुई खेलमा हार ब्यहोरेका कारण नेपालको सम्भावना बाँकी रहेको हो । शनिबारबाट औपचारिक उद्घाटन हुने एसियाडका खेलहरुमध्ये फुटबल लगायतका केही खेल गत मंगलबारबाट शुरु भएका हुन् । विहीबारको खेलमा नेपालले जित हात पारेको प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावना थियो ।

यसअघि पहिलो खेलमा नेपाली यु–२३ फुटबल टोलीले पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग १–० को पराजय व्यहोरेको थियो । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर नेपाली टोली एसियाडका लागि नेपाली टोली इन्डोनेसिया पुगेको हो । नेपालले थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पनि पराजय व्यहोरेको थियो ।

ओलम्पिक टोलीमा तीन जना सिनियर खेलाडीले खेल्न पाउने प्राबधान अनुसार नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा स्थान बनाएका हुन् । नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गरेका छन् ।