एसिया कपको छनोटमा नेपालको १९ सदस्यीय प्रारम्भिक टोली घोषणा

title
बिहिबार, साउन २४, २०७५

काठमाडौ । मलेसियामा अगष्ट अन्तिम साताबाट सुरु हुने एसिया कपको छनोटका लागि नेपालले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमट्टा र कप्तान पारस खड्काको छनोट समितिले आज प्रारम्भिक टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणपछि पहिलो चरणमा आएका १९ खेलाडीबाट १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिनेछ । नेपाली टोलीको बन्द प्रशिक्षण आगामी मंगलबारबाट हुनेछ ।

१९ सदस्यीय टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललत नारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी र रोहित कुमार पौडेल रहेका छन् । त्यस्तै सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुशान भारी रहेका छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा मलेसियाको बायुमास ओभलमा हुनेछ ।