एसिया कप छनोटका लागि क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा

title
मङ्लबार, साउन २९, २०७५

काठमाडौं । एसिया कप छनोट प्रतियोगिता लागि नेपाली क्रिकेट टोली मंगलबारबाट बन्द प्रशिक्षणमा जुटेको छ । हालै घोषणा भएको १९ सदस्यीय प्रारम्भिक टोली बन्द प्रशिक्षणमा जुटेको हो । छनोट समितिल गत विहीबार १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको थियो ।

मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको समितिले बिहिबार १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । प्रशिक्षणमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहित बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी रहेका छन् । त्यस्तै आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी, सुवास खकुरेल, सुनिल धमाला र सुशन भारी टोलीमा समेटिएका छन् ।

१९ खेलाडीबाट एसिया कप छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा हुनेछ । एसिया कप छनोट अगस्ट अन्तिममा हुनेछ । त्यसअघि टोलीले अन्तिम तयारी र तीन अभ्यास खेलका लागि श्रीलंका भ्रमण गर्ने बताइएको छ । क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई समेत नेपाल आउने भएका छन् । छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ । उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ ।

नेपालले त्यसपछि आयोजक मलेसियासंग सेप्टेम्बर १, सिंगापुरसँग सेप्टेम्बर २ र हङकङसँग सेप्टम्बर ४ मा प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । छनोटको विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट भइ जाने एक टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कप भदौं ३० गतेबाट असोज १० गतेसम्म युएइमा हुँदैछ ।

त्यसो त नेपाली क्रिकेट टोली पछिल्लो समय लयमा देखिएको छ । गत साउन १८ गते नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध अन्तर्राष्ट्रिय एक दिवसीय सिरिजमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । अन्तिम खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै सिरिज बराबरी बनाउन सफल भएको थियो । पछिल्लो समय नेपाली टोली लयमा रहेको छ भने कमजोर मानिएको नेपाली टोलीको ब्याटिङ पक्ष पनि सुधारोन्मुख अवस्थामा देखिएको छ । बन्द प्रशिक्षणले नेपाली टोलीको खेल लयमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

यसैबीच, नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सहित ३ खेलाडी पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएका छन् । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग २ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली खेलाडी वरीयतामा समावेश भएका हुन् । बलरको वरीयतामा सन्दीप लामिछाने २ सय १७ औं स्थानमा छन् । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध ४ विकेट लिएका थिए । बलरको पहिलो वरीयतामा भारतका जसप्रित बुमराह छन् ।

दोस्रो स्थानमा अफगानिस्तानका रसिद खान छन् भने तेस्रो स्थानमा पाकिस्तानका हसन अली छन् । यस्तै ब्याट्सम्यानको वरीयतामा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । दुवैले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सोमपाल २ सय २९ औं वरीयतामा छन् भने ज्ञानेन्द्र २ सय ३६ औं वरीयताम छन् । एकदिवसीय वरीयताको पहिलो स्थानमा भारतीय कप्तान विराट कोहली छन् । दोस्रो स्थानमा पाकिस्तानका बाबर अजाम र तेस्रो स्थानमा इंग्ल्यान्डका जोए रुट छन् ।