एसिया कप छनोटको तयारीमा नेपाली क्रिकेट टोली

title
बिहिबार, साउन २४, २०७५

काठमाडौं । हालै नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको नेपाली क्रिकेट टोली एसिया कप छनोटको तयारीमा जुटेको छ । एक दिवसीय सिरिज बराबरी बनाउन सफल नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कप छनोट रहेको छ । जसका लागि नेपाली खेलाडी निकै नै अभ्यस्त हुनेछन् । नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि व्याटिङकै कारण उनीहरु महत्वपूर्ण खेलमा पराजय व्योहर्न बाध्य हुने गरेका छन् ।

पछिल्लो समय नेपाली टोलीको व्याटिङ पक्ष लयमा देखिए पनि एसिया कपकै लागि नेपाली टोलीलाई व्याटिङ प्रशिक्षण दिन भारतीय ब्याटिङ प्रशिक्षक अपुर्व देशाई नेपाल आउने भएका छन् । भारतीय क्रिकेट टोली र आइपीएल टोली कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिइसकेका अपुर्व देशाईं नेपाल आउन लागेको नेपाली टोलीका जगत टमाटाले जानकारी दिएका हुन् । ‘हामीले आइसीसीलाई ब्याटिङ कन्सलटेन्ट आवश्यक रहेको आग्रह गरेका थियौ । आइसीसीबाट देशाईंको नाम अप्रुभ भएको छ’ प्रशिक्षक टमाटाले भने, ‘उनी केही दिनमा नै नेपाल आउने छन् । हामी अब दुई दिनपछि एसिया कपको छनोटको लागि प्रशिक्षण थाल्नेछौं ।’

यसअघि नेपालको ब्याटिङलाई सहयोग गर्न भारतबाट मोन्टी देशाईं, उमेश पटवाल र सुलक्षण कुलकुर्णी नेपाल आएका थिए । देशाईं भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातका लागि फस्ट क्लास क्रिकेट खेलेका छन् ।

४३ वर्षका देशाईले गुजरातबाट फस्ट क्लास क्रिकेट खेलेका थिए । मुख्य प्रशिक्षक टमाटाले क्लोज क्याम्प यही २९ गते मंगलबारदेखि सुरु हुने बताए । मलेसियामा हुने एसिया कपको छनोट खेल यही अगष्ट २९ तारिखदेखि सुरु हँुदैछ । छनोट प्रतियोगितामा आयोजक मलेसियासँगै नेपाल, युएई, हङकङ, सिंगापुर र ओमान रहेका छन् ।

छनोटको पहिलो खेलमा नेपालले ओमानसंग अगष्ट २९ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेलमा युएईसँग अगष्ट ३० मा प्रतिस्पर्धा गर्दैछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सेप्टेम्बर १, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको विजेताले एसिया कप खेल्ने अवसर पाउनेछ ।