एसिया कप छनोटबारे कप्तान पारसले के भने ?

title
मङ्लबार, भदौ ५, २०७५

काठमाडौं । आगामी भदौ १३ गतेबाट मलेसिायमा हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली वैदेशिक प्रशिक्षणमा निस्किएको छ । नेपाली टोलीले प्रतियोगिता अगाबै श्रीलंकामा तीन वटा अभ्यास खेल खेल्नेछ जसका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई सोमबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विदाई गरेका छन् । सरकारी निवास वालुवाटारमा आयोजित विशेष कार्यक्रमका बीच नेपाली टोलीलाई विदाई गर्दै सभामुख महराले सफलताको कामना गरे ।

हालै एकदिवसीय क्रिकेट खेलेर फर्किएको टोलीलाई भेट्न पाउँदा उत्साहित भएकाने बताउँदै सभामुख महराले आगामी दिनमा पनि नेपाली क्रिकेटले नेपाली जनतालाई थप खुशी दिलाउने विश्वास ब्यक्त गरे । राज्यले खेलकूदका क्षेत्रमा अझै लगानी गर्नुपर्नेमा जोड दिँदै सबैको सहकार्यले मात्रै खेल क्षेत्रको विकास हुने सभामुख महराको भनाइ थियो ।

यसैगरी नेपाली टिमका कप्तान पारस खड्काले राजनीतिक नेतृत्वले खेल क्षेत्रलाई क्रमश बुझ्दै गएकोमा खुशी ब्यक्त गर्दै एशिया कप छनोटमा पनि टिमले राम्रो प्रदर्शन गर्ने बताए । कप्तान खड्काले प्रतियोगिता आफू र नेपाली टिमका लागि निकै महत्वपुर्ण रहेको र अहिलेको क्रिकेटको माहोल बनाई राख्न जरुरी रहेको बताए ।

श्रीलंकामा सक्दो राम्रो अभ्यास गरेर कमजोरीलाई औल्याउँदै टिम जितका लागि मलेसिया जाने उनले बताए । उनले भने–‘एसिया कप छनोट पक्कै पनि चुनौतीपूर्ण छ । यो एक सुन्दर मौका पनि हो । हामी त्यो सुन्दर मौकालाई गुमाउन चहादैनौं ।’

एशियाली क्षेत्रमा अरु ठाँउको तुलनामा फरक बाताबरण हुने र लामो समयपछि एशियाली देशहरुसँग खेल्न लागेकाले सबै टिम निकै बलिया भएको र आफूहरुले त्यही अनुसारको रणनीति बनाउने कप्तान पारसले उल्लेख गरे । श्रीलंका प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये सन्दिप लामिछाने अहिले सीपीएल खेलिरहेका कारण उनी उतैबाट मलेसिया पुग्नेछन् । श्रीलंकामा एक साता रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । नेपालले भदौ ६ गते पानागोडामा आर्मी क्रिकेट टिमसँग खेल्नेछ ।

त्यसको दुई दिनपछि अर्थात भदौ ८ ब्लुमफिल्डसँग उसैको मैदानमा खेल्नेछ भने भदौ १० गते कोल्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि भदौ ११ गते टोली मलेसिया प्रस्थान गर्नेछ । एसियाका टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले खेल्ने एसिया कप छनोट मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुनेछ ।

जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ ।

एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली रहेको छ । जसमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले झण्डै ८ महिनापछि राष्ट्रिय टिममा कमब्याक गरेका छन् । बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ खेलाडी छनोट गरिएको हो । अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेको टिममा रहेका १५ मध्ये शरद भेषावकर र शक्ति गौचन छनोट खेल्ने टिममा छैनन् ।

शक्तिले सन्यास घोषणा गरिसकेका छन् भने शरद चोटका कारण क्याम्पमै परेका थिएनन् । नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट शुरु गर्नेछ । नेपालले पछिल्लो पटक नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको थियो । उक्त खेलमा एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली टोलीले एसिया कप छनोटमा स्थान बनाउने लक्ष्य राखेको छ । जसका लागि नेपाली खेलाडी निकै नै अभ्यस्त छन् ।

नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि ब्याटिङ पक्ष अझै राम्रो हुन सकेको छैन । तर पनि विगतका तुलनामा नेपाली पक्षको ब्याटिङ पक्ष पनि सुधारोन्मुख रहेको छ । प्रशिक्षक जगत टमाटाले भने, ‘नेपाली टोलीको व्याटिङ पक्ष पनि सुध्रिदै गएको छ, हामी क्रिकेटमा सफल बन्दै गएका छौं, खेलाडीहरु पनि उत्साहित छन् । हाम्रो लक्ष्य भनेकै अब एसिया कप छनोटमा स्थान बनाउनु हो, हामी सक्षम हुनेछौं ।’

प्रतियोगिता अन्तर्गत भदौ १३ मा नेपालले बायुमास ओभल मैदानमा ओमानको सामना गर्नेछ भने दोस्रो खेलमा नेपालले यूएईको सामना गर्नेछ । जुन खेल किनरारा ओभल मैदानमा हुनेछ । त्यसैगरी तेस्रो खेलमा बायुमास ओभल मैदानमै नेपालले मलेसियाको सामना गर्नेछ । चौथो खेलमा भने नेपालले यूकेएम ओभल मैदानमा सिंगापुरको सामना गर्नेछ भने अर्को खेलमा हङकङ विरुद्ध नेपाल मैदानमा उत्रिने छ ।