एसिया कप छनोट खेल भोलिबाट, पहिलो खेलमा नेपाल ओमानसँग भिड्ने

title
मङ्लबार, भदौ १२, २०७५

काठमाडौं । मलेसियामा भोलिबाट शुरु हुने एसिया कप छनोट क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार श्रीलंकाबाट मलेसिया पुगेको छ । छनोट प्रतियोगिता अघि तयारीसहित अभ्यास खेल खेल्नका लागि नेपाली टोली गत सोमबार श्रीलंका गएको थियो । श्रीलंकामा तीन अभ्यास खेलमा शतप्रतिशत नतिजासहित नेपाली टोली मलेसिया पुगेको हो ।

पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा यस पटक विनोद भण्डारी र सागर पुनले समेत कमब्याक गरेका छन् । श्रीलंकामा खेलेको तीनवटै अभ्यास खेलमा नेपाल विजयी भएको थियो । जसमा कप्तान पारस खड्कासहित युवा खेलाडीहरु दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाली टोलीका एक सदस्य सन्दीप लामिछाने भने सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओटसमा अनुबन्ध भएका कारण उतैबाट मलेसिया जानेछन् । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले श्रीलंकामा राम्रो तयारी भएको बताए । अभ्यासमा टप अर्डर ब्याट्म्यासले समेत राम्रो खेलेको टमाटाले बताए । छनोट खेलमा एसियाका टेष्ट खेल्ने राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसरको रुपमा रहेको एसियाका नेपालसहित ६ राष्ट्र सहभागी छन् । छनोटको विजेताले सेप्टेमवरमा युएईमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपालले बुधवार छनोटको पहिलो खेल ओमानसँग खेल्नेछ । एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाईटेड अरब इमिरेटस(युएइ), हङकङ, सिङ्गापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो खेल भदौ १४ गते युएइसँग, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् भने उक्त प्रतियोगिता विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । केही समय पहिलो नेपालले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको थियो ।

उक्त खेलमा एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली टोलीले एसिया कप छनोटको लागि सोमबार मलेसिया पुगेको हो । नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि ब्याटिङ पक्ष पनि विगतका तुलनामा सुधारोन्मुख देखिएको छ । यही लयलाई समात्न सके नेपालले एसिया कपमो स्थान बनाउने सम्भावना बलियो बन्नेछ ।