ए डिभिजन लिगः एपीएफ र एनआरटी तथा पुलिस र संकटा भिड्दै

title
मङ्लबार, मंसिर १८, २०७५

छैटौं चरणका खेल आजबाट
काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेल मंगलबारबाट शुरु हुँदैछन् । छैटौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् ।

प्रतियोगिताअन्तर्गत पाँचौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ । मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अंकका साथ दोस्रो स्थनामा छ ।

थ्रीस्टार र संकटा चारमा जीत र एउटामा पराजित हुँदै १२–१२ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०–१० अंकका साथ पाँचौ र छैटौँ स्थानमा छन् । सरस्वति क्लब दुई जीत र तीन खेलमा पराजित हुँदै छ अंकका साथ सातौँ स्थानमा छ ।

ए डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लब एउटा जीत, एउटामा बराबरी र तीन खेलदमा पराजित हुँदै चार अंकका साथ आठौँ र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौँ, १०औँ र ११औँ स्थानमा छन् । चार खेलमा पराजित र एउटामा जीतसहित ब्रिगेड ब्वाइज लिगको १२औँ स्थानमा छ । मछिन्द्र दुई अंकका साथ १३ औँ तथा एनआरटी एक अंकका साथ अंकतालिकाको पुछारमा छ ।

ए डिभिजन लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा समेत सहभागिता जनाउने अवसर प्राप्त गर्नेछ ।