ए डिभिजन लिगः छैटौं चरणका खेल समाप्त

title
शुक्रबार, मंसिर २१, २०७५

उपाधिको दाबेदार आर्मीलाई फ्रेण्ड्सले रोक्यो
काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको दोस्रो स्थान उक्लने मौका गुमाएको छ । आर्मीले फ्रेन्ड्स विरुद्ध बराबरीमा चिक्त बुझायो । पुरै खेलमा एक दर्जन प्रहार गरेपनि गोल गर्न नसक्दा आर्मीले लिगमा दोस्रो बराबरी खेल्यो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले पाएका मौकालाई पनि उसले सदुपयोग गर्न सकेन । खेलको १५ औं मिनेटमा आर्मीको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले बचाए । २० औं मिनेटमा फेरी आर्मीको अर्को मौका पाएको थियो । जसमा फ्रेन्ड्सका गोलकिपर लिम्बुले नै बचाए । खेलको ४० औं मिनेटमा आर्मीले गरेको प्रहार पोलमा लागेर फर्किदा उसका समर्थक चुकचुकाउन पुगे । पहिलो हाफ अन्तिममा फेरी आर्मीले डरलाग्दो मुभ बनाएको थियो ।

तर यसपटकपनि गोलकिपर देवले बचाए । पहिलो हाफ गोलरहति बराबरी भएको खेलको ६२ औं मिनेटमा आर्मीले अर्को मौका सिर्जना गरेको थियो तर सफल भएन । ७६ औं मिनेटमा फेरी आर्मीको प्रयासमा फ्रेन्ड्सको डिफेन्सलाइन बाधक बन्यो । बारम्बार फ्रेन्ड्सको पोष्टमा चार्ज गरेको आर्मीको हरप्रयास असफल हुँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

बराबरीपछि आर्मीले लिगको दोस्रो स्थानमा उक्लने सुनौलो मौका गुमायो । जारी लिगमा आर्मीको यो दोस्रो बराबरी हो । उसले खेलको ६ खेलमा चारमा जित र दुई बराबरी खेलेको छ । उसको ६ खेलबाट १४ अंकका साथ लिगको चौथो स्थानमा नै रहेको छ ।
त्यस्तै विहीबार नै भएको अर्को खेलमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज पनि गोलरहित बराबरी खेलेका छन् । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलको सुरुवातमा ब्रिगेड ब्याइजले मच्छिन्द्रलाई दबावमा राखेको थियो । तर केहि मौका सिर्जना गरेपनि सफल भएन । खेलको ४४ औं मिनेटमा ब्रिगेड ब्याइजको प्रहार पोलमा लागेर फर्कियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले गोलको खाता खोल्न सकेनन् ।

जसका कारण दुबैले अंक बाढे । प्रतियोगितामा मच्छिन्द्रले तेस्रो बराबरी खेलेको हो भने ब्रिगेड ब्याइजले दोस्रो । यो बराबरीपछि ब्रिगेड ब्याइजको ५ खेलबाट चार अंक भएको छ भने मच्छिन्द्रको तीन अंक भएको छ । विहीबारका खेलको समाप्तिसँगै सहिद स्मारक ए डिभिजन लिगमा छैटौं चरणका खेल समापन भएका छन् । प्रतियोगिता अन्तर्गत सातौं चरणका खेल शनिबारबाट हुनेछन् ।

ए डिभिजन लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ ।

फेयर प्ले टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा समेत सहभागिता जनाउने अवसर प्राप्त गर्नेछ ।