ए डिभिजन लिगः तीन खेलका ६ टोली मैदानमा

title
बुधबार, मंसिर १९, २०७५

पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लब, च्यासल युथ क्लब र हिमालयन शोर्पा तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् ।

मंगलबार भएको खेलमा जित हात पार्दै संकटा क्लब दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटाले पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । संकटाको जितमा सरोज दाहाल र दिपेश खाले मगरले गोल गरेका थिए ।

खेलको २९ औं मिनेटमा सरोजले लक्ष्मण रुचालको कर्नरमा सुरुवाती अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा दिपेश आले संकटाको अग्रता दोब्बर पारेका थिए । लगत्तै पुलिसका अभिषेक रिजालको पासमा रवी पासवानले पेनाल्टी एरियाबाट गोल गर्दै हारअन्तर घटाएका थिए । ६ खेल खेलिसक्दा संकटा लिगमा पाँचौ जित दर्ता गर्दै १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । शीर्षको मनाङसँग बराबरी अंक भएपनि गोलअन्तरका आधारमा संकटा दोस्रो स्थानमा छ । पुलिसको भने ६ खेलमा ३ जित, १ बराबर र २ हारसँगै १० अंक भएको छ । उ पाँचौ स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो ।

यस जितसँगै एपिएफले सात अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ । यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेको थियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपीएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे ।

खेल शुरुवातीको पाँचांै मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक÷एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ आँै मिनेटमा सुदिपले एक गोल थप्दै एपीएफको लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अंका साथ लिगको पुछारमा छ ।

ए डिभिजन लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्दै आएको छ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा समेत सहभागिता जनाउने अवसर प्राप्त गर्नेछ ।