ए डिभिजन लिगः दुर्इ महारथी थ्रीस्टार र मनाङ मैदानमा

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लब शीर्ष दुई स्थानमा छन् ।

तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् । उपाधिको दावेदार मानिएका यी दुवै टोली स्पष्ट तीन अंकको खोजीमा हुनेछन् । लिगको दोस्रो चरण सकिदा थ्री स्टार ६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । मनाङ ६ अंक जोडेर दोस्रो स्थानमा छ । दुवैले अघिल्ला दुई खेल जितेका छन् । तेस्रो चरणको खेलमा एक अर्काविरुद्ध मैदान उत्रदा दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् ।

‘थ्री स्टार राम्रो टिम हो । हामी बराबरी जस्तै छौं,’ प्रि म्याच कन्फरेन्समा मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘हामी ३ अंकको लागि खेल्ने छौ । नत्र १ अंक भए पनि पाउने छ । उनीहरु पनि निकै राम्रो छ । तर, हामी जित्छौ जस्तो लाग्छ ।’ तर, थ्री स्टारविरुद्ध मैदान उत्रदा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका पहिलो रोजाईका दुई खेलाडी घाइते छन् । कप्तान सुजल श्रेष्ठ र प्रकास बुढाथोकीको चोटले मनाङलाई केही असहज भने देखिएको छ ।

यस्तै मुख्य स्ट्राइकर आफिज ओलावाले थ्री स्टारविरुद्धको खेलमा हुने छैनन् । ब्रिगेड ब्वाइजसंगको खेलमा पहेलो कार्ड खाएका उनले एनआरटीसंग समेत कार्ड पाएका थिए । लगातार दुई पहेलो कार्डका कारण उनी एक खेलको निलम्बनमा छन् । तर, मनाङका प्रशिक्षक श्रेष्ठले सब्सिच्युड खेलाडी राम्रो रहेको बताउदै टिमलाई गाह्रो नहुने बताए ।

प्रशिक्षक श्रेष्ठले थ्री स्टारविरुद्ध खेल्ने रणनीतिमा परिवर्तन गर्ने समेत बताए । मनाङका मुख्य तीन खेलाडी नहुदा थ्री स्टारलाई भने केहि फाइदा हुनेछ । तर, थ्री स्टारले मनाङलाई कमजोर टिमको रुपमा लिने छैन । थ्री स्टार शतप्रतिशत जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

‘मनाङको केही खेलाडी छैन भनेर हामी सहज लिदैनौ । मनाङ एक कठिन टिम हो,’ थ्री स्टारका प्रशिक्षक मेघ राज केसीले प्रि म्याच कन्फरेन्समा भने, ‘हाम्रो टिम हार रुचाउदैन । हामी जित्नका लागि नै खेल्छौं । राम्रो प्रयास गर्ने छौं । उनीहरु भन्दा बढी मेहेनत गरेर ३ अंक लिने छौं ।’

थ्री स्टार प्ले मेकर भूमिका निभाउन सक्ने खेलाडी बिक्रम लामाको पुनरागमनले थप बलियो बनेको छ । ९ महिनापछि टिममा फर्किएका कप्तान लामाले पहिलो खेलमै गोल गरेका थिए । जसले थ्री स्टार थप हौसिएको छ । यस्तै प्रशिक्षक केसीले लिगका लागि थ्री स्टारले एक लक्ष्य राखेर हिडेको कारण हरेक खेलमा ३ अंकको लागि मेहेनत गर्ने बताए । ‘लिग खेल्ने १३ नै बलियो छ । १३ वटै म्याचलाई फोकस गर्नेछौं ।

बिहीबारै पहिलो जितको खोजीमा रहेका च्यासल र न्यू रोड टिम (एनआरटी) को भिडन्त हुनेछ । तेस्रो चरणमा दोस्रो ठूलो खेलमा उपाधि आकांक्षी अन्य दुई क्लब पनि खेल्नेछन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल भने शुक्रबार हुनेछ । शुक्रबार तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्नेछ । दिउँसो २ः३० बजे दुई खेल हुनेछन् । आर्मी र पुलिसको विभागीय डर्बी एन्फा कम्प्लेक्समा चलिरहँदा मछिन्द्र र संकटा एपीएफ रंगशालामा खेल्नेछन् ।

तेस्रो चरणको अन्तिम दुई खेल शनिबार हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । पहिलो खेलमा पहिलो जितको खोजीमा रहेको फ्रेन्ड्सले अर्को अंकविहिन क्लब सरस्वतीको सामना गर्नेछ । दोस्रो खेलमा जावलाखेल र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल तालिका :तेस्रो चरण

मंसिर ६ : च्यासलविरुद्ध एनआरटी ( ११ बजे – एन्फा कम्प्लेक्स)
मंसिर ६ : मनाङविरुद्ध थ्री स्टार (२:३० बजे – एन्फा कम्प्लेक्स)
मंसिर ७ : ब्रिगेड ब्वाइजविरुद्ध एपीएफ (११ बजे – एन्फा कम्प्लेक्स)
मंसिर ७ : आर्मीविरुद्ध पुलिस (२:३० बजे – एन्फा कम्प्लेक्स)
मंसिर ७ : मछिन्द्र विरुद्ध संकटा  (२:३० बजे – एपीएफ रंगशाला)
मंसिर ८ : फ्रेन्ड्सविरुद्ध सरस्वती  (११ बजे – एपीएफ रंगशाला)
मंसिर ८ : जावलाखेल विरुद्ध हिमालयन शेर्पा (२:३० बजे – एपीएफ रंगशाला)