ए डिभिजन लिगः पाँचौं चरणका खेल आजबाट

title
शुक्रबार, मंसिर १४, २०७५

अंक तालिकामा मनाङ, आर्मी र शेर्पाको प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ‘ए डिभिजन लिग’ अन्तर्गत पाँचौ चरणका खेल शुक्रबारबाट शुरु हुँदैछन् । शुक्रबार दुई खेलका चार टोली आमने सामने हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा विहान ११ बजेबाट एनआरटी र विभागीय टाली नेपाल पुलिस क्लबबीच खेल हुनेछ भने एन्फा कम्पेक्समै दिउँसो २ः३० बजे दुई विभागीय टोली आर्मी र एपीएफ आमने–सामने हुँदैछन् ।

त्यसैगरी शनिबार पनि दुई वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल हल्चोक मैदानमा संकटा र च्यासलबीच हुनेछ भने दिउँसो २ः३० बजे मनाङ र संकटाबीच खेल हुनेछ । पाँचौ चरणका अन्तिम खेल आउँदो आइतबार हुनेछन् । आइतबार तीन खेलका ६ टोलीबीच भिडन्त हुनेछ ।

आइतबार हुने पहिलो खेलमा विहान ११ बजे एन्फा कम्प्लेक्समा मछिन्द्र र फ्रेण्ड्सबीच भिडन्त हुनेछ भने दिउँसो २ः३० बजे एन्फा कम्प्लेक्समै आमी र हिमालय शेर्पा आमने सामने हुनेछन् । पाँचौ चरणको अन्तिम खेलमा एपीएफको खेल मैदान हल्चोकमा ब्रिगेड ब्वाइज र जावालाखेल भिड्ने छ ।

विहीबार कुनै खेल थिएन । बुधबारसम्मको खेल नतिजालाई हेर्ने हो भने मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ । उसले चार खेलमै जित निकाल्दै १२ अंक जोडेको मनाङ दोस्रो स्थानको अर्को अपराजित टोली आर्मी भन्दा २ अंकले अघि छ । आर्मीले एक खेलमा बराबरी खेलेका कारण मनाङ भन्दा पछि परेको हो ।

आर्मीले पहिलो चरणको खेलमै एनआरटीसँग २–२ को बराबरी खेलेको थियो । त्यसयता हरेक खेलमा उसले जित निकाल्दै आएको छ । दोस्रो चरणमा उसले च्यासल यूथ क्लबलाई १–० ले पराजित गरेको थियो । यस्तै तेस्रो चरणमा पुलिसलाई पनि त्यही अन्तरले पराजित गरेको आर्मीले चौथो चरणमा संकटामाथि भने ५–१ को जित हात पारेको थियो ।

मनाङले भने पहिलो खेलदेखि नै आफ्नो उपाधि लक्ष्य प्रस्तुत गरिसकेको थियो । ब्रिगेड ब्वाइजलाई पहिलो खेलमा ३–१, एनआरटीलाई २–०, थ्रीस्टारलाई २–१ र एपीएफलाई मनाङले त्यही अन्तरले पाखा लगाइसकेको छ । यता, दश अंक नै रहेको हिमालय शेर्पाले पनि तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै शीर्ष दुई टोलीलाई पछ्याइरहेको छ ।

गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेपनि शेर्पाले पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरीमा टुंग्याएको थियो । दोस्रो खेलमा संकटालाई १–०, तेस्रो खेलमा जावलाखेल यूथ क्लबलाई २–१ र चौथो खेलमा मछिन्द्रलाई २–०ले पाखा लगाउँदै शेर्पा तेस्रो स्थानमा उक्लिएको हो ।

लिगको अर्को दाबेदार टोली थ्रीस्टार भने चौथो स्थानमा छ । थ्रीस्टारले तीन खेलमा जित हात पारेपनि तेस्रो चरणमा मनाङसँगको हारका कारण उ तेस्रो स्थानमा खुम्चिनु परेको हो । ९ अंक रहेको उसलाई समान अंकसहित संकटा क्लबले पछ्यारहेको छ । चौथो चरणका खेलहरु सम्पन्न हुँदा नेपाल पुलिस क्लब(७), सरस्वती क्लब(६), च्यासल यूथ क्लब(४), एपीएफ(४), ब्रिगेडब्वाइज(३), मछिन्द्र(२) क्लब क्रमशः छैटौं देखि एघारौं स्थानसम्म छन् । समान एक एक अंक रहेका जावलाखेल, फ्रेण्ड्स र न्यूरोड टिम पुछारमा रहेका छन् ।

ए डिभिजन लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख नगद राशि पाउनेछ भने उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछ ।