ए डिभिजन लिगः मनाङ मर्स्याङ्दीको छैठौ जित

title
बुधबार, मंसिर १९, २०७५

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ ।

बुधबार ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १ – ० गोल अन्तरले हराएर मनाङले अपराजित यात्रा कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरे । खेलको ६२ औं मिनेटमा मनाङका अडेलाजालाई जावलाखेलका खेलाडीले लडाएपछी पाएको पेनाल्टीमा अन्जन बिष्टले गोल गरेका थिए ।

जितसंगै मनाङको ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ लिगमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । पराजित जावलाखेल ४ अंक जोडेर ११ औं स्थानमा छ ।

च्यासलको दोस्रो जित

च्यासल युथ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएर च्यासलले दोस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती गोल पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५६ औं मिनेटमा सन्तोषले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २–१ ले विजयी भयो । सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो ।

जितसंगै च्यासलले ६ खेलबाट ७ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अंक जोडेर छैटौं स्थानमा छ ।

थ्री स्टार दोस्रो स्थानमा उक्लियो

रुस्लान थ्री स्टार क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेर थ्री स्टार दोस्रो स्थानमा उक्लिएको हो ।

हलचोकस्थित एपीएफको मैदानमा थ्री स्टारलाई जित दिलाउन रञ्‍जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले एक गोल गरे ।

खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा थ्री स्टारका रञ्‍जित धिमालले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३६ औं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–१ को जित दिलाए ।

जितसंगै थ्री स्टारले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । र थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंगको अंक दुरी ३ मा झारेको छ । सरस्वती ७ अंक जोडेर आठौं स्थानमा छ ।