ए डिभिजन लिगः मनाङ र आर्मीको विजय

title
सोमवार, मंसिर २४, २०७५

काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजका खेलमा मनाङ मस्र्याङदी र आर्मी बिजयी भएका छन ।

सातदोबाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्याइज र मनाङले मच्छिन्द्रलाई पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको दोश्रो खेलमा मनाङ मस्र्याङदी क्लवले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भयो ।

खेलमा मनाङले मच्छिन्द्र विरुद्ध एक शुन्यको कठिन जित हात पारेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी रहेपनि ८५औं मिनेटमा मनाङले अग्रता बनायो ।

मनाङका लागि सब्सिच्युट खेलाडी अफिज ओलाओलेले गोल गरेका हुन । यो जितसँगै मनाङले सात खेलबाट २१ अंक बनाउदै थ्रिस्टारसँग तीन अंकको स्पष्ट अग्रता बनाएको छ ।

त्यस्तै आजै सम्पन्न पहिलो खेलमा विभागीय टिम आर्मीले ब्रिगेड ब्याइजमाथि एक शून्यको कठिन जित निकाल्यो । खेलको ६६औं मिनेटमा आर्मीले अग्रता लिएको थियो ।

उसका लागि टंकबहादुर बस्नेतले सन्तोष तामाङको क्रसमा गोल गरेका थिए । यो जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ ।