ए डिभिजन लिग: अन्तिम चरणका दोस्रो खेल आज

title
आइतवार, पुस २२, २०७५

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगको यो संस्करण आउँदो मंगलबार सकिंदैछ । लिगका अन्तिम तथा १३ औं चरणका खेल शनिबारबाट शुरु भए । आयतबार आज अन्तिम चरणका दोस्रो खेल हुँदैछन् ।

यस अघि अन्तिम चरणका पहिलो खेलमा शनिबार भएका दुई वटा खेलमा दुबै खेल बराबरीमा टुंगिए । दुई खेल अगावै मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन बनिसकेको अवस्थामा एक खेल अगावै संकटाले पनि दोस्रो स्थान बनाइसकेको छ । अब तेस्रो को हुने भने टुंगो लाग्न बाँकी छ । लिगको तेस्रो स्थानका लागि थ्रीस्टार र आर्मी बीच एक टोली बन्ने छ ।

पुलिस र सरस्वती भिडन्त 
लिगको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिस क्लवले अन्तिम खेलमा सरस्वती क्लवसँग एक एक गोलको बराबरीमा चित्त बुझाएको छ । यो बराबरीले पुलिसको शीर्ष छ मा पुग्ने सम्भावना कठिन भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा सरस्वतीले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा पुलिसका खेलाडीले डिबक्समा फल गरेपनि पाएको पेनाल्टीलाई सरस्वतीका भिक्टरले गोमा परिणत गरे । तर त्यसको तीन मिनेटपछि नै पुलिसले खेल बराबरी बनाउन सफल भयो ।

उसका लागि रवीशंकर पासवानले गोल गर्न सफल भए । उनले नीरकुमार शाहको पासको सदुपयोग गरे । त्यसपछि पनि पुलिसले केहि मौका पाएपनि सफल भएन । तीन पटकका च्याम्पियन पुलिसले यो बराबरीपछि अंक तालिकामा १९ अंक बनाएको छ ।

च्यासल–जाउलाखेल भिडन्त
यसैबीच शनिबार नै भएको अर्को खेलमा च्याससले जाउलाखेसँग एक एकको बराबरीमा चित्त बुझाएको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा जाउलाखेलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १० औ मिनेटमा अर्जु सिंहले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ३२ औं मिनेटमा च्यासलले पेनाल्टी मार्फत गोलगर्दै बराबरी गर्न सफल भयो । च्यासलका सन्नी ब्यञ्जनकारलाई डिबक्समा लडाएपछि छिरीङ गुरुङले गोल गर्न सफल भए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र एक एकको बराबरीमा खेल सकियो । यो बराबरीले च्यासलको १६ अंक भएको छ भने जाउलाखेलको १३ अंक छ ।

प्रतियोगिता अन्तिम खेल भने मंगलबार हुनेछन् । अन्तिम दिन मंगलबार लिग च्याम्यिनबनेको मनाङ र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यदि सो खेलमा मनाङ विजयी भएमा लिगमा अपराजित रहँदै उपाधि जित्ने किर्तीमान बनाउनेछ । एन्फा मैदानमा हुने सो खेलपछि उसलाई ट्रफि पनि हस्तान्तरण गरिनेछ ।

यता लिग विजेता बन्ने सपना बुनेको थ्रीस्टार क्लब अन्तत तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ । तेस्रो स्थान हासिल गर्न थ्रीस्टारलाई जित अनिवार्य रहेको छ । थ्रीस्टारले जित हात पारे ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गर्ने छ । तर पराजित या बराबरी भएमा उक्त स्थान आर्मीले खोस्न पनि सक्नेछ ।

प्रतियोगिता सुरु हुनुपूर्व उपाधि जित्ने लक्ष्य बनाएको अर्का विभागीय टिम हो, आर्मी । तर अहिले आर्मीको लक्ष्य तेस्रो स्थानमा खुम्चिएको छ । आर्मीले अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो हुन यो खेलमा आर्मीले जितेर मात्रै पुग्दैन ।

यता, थ्रीस्टार हिमालयन शेर्पासँग बराबरी या पराजित हुनुपर्छ । १२ खेलबाट २३ अंक बनाएको थ्रीस्टार लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंक बनाएको आर्मी चौथो स्थानमा छ । थ्रीस्टारभन्दा आर्मी एक अंकले मात्रै पछि रहेको छ ।  यो वर्ष रेलिगेसन नभए पनि अर्को वर्ष हुने लिगमा भने १४ औं स्थामा हुने टिमको दुई अंक घट्ने हुनाले दुबै टिम अन्तिम खेल जितेर अन्तिम स्थान छाड्ने लक्ष्यमा छन् । त्यस्तै, १३ औं स्थानमा हुने टिमको एक अंकमात्र घट्नेछ ।