’ए’ डिभिजन लिग: उपविजेता संकटा अन्तिम खेलमा पराजित, एपीएफ दुई एक गोलअन्तरले बिजयी

title
सोमवार, पुस २३, २०७५

काठमाडौ । जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लब अन्तिम खेलमा पराजित भएको छ ।

सोमवार सम्पन्न खेलमा उपविजेता क्लब संकटा विभागीय टिम एपीएफ क्लबसंग दुई एक गोलअन्तरले पराजित भएको हो । यता, एपिएफले भने आफ्नो अन्तिम खेलमा जीत हात पार्दै लिगको सुखद अन्त्य गरेको छ ।

ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे । संकटाका लक्ष्मण रुचालले एक गोल फर्काए । बल पोजिसनमा संकटाले पकड जमाएपनि एपीएफले पहिलो हाफमै एक शुन्यको अग्रता बनाएको थियो ।

खेलको २३औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई एक शुन्यको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७२औं मिनेटमा राजनले हेडमार्फत गोल गर्दै एपीएफलाई दुई शुन्यको अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लक्ष्मणले फ्रिकिकबाट एक गोल गरेपनि संकटाको हार भने टार्न सकेनन् ।