ए डिभिजन लिग : चौथो चरणका खेल आजबाट

title
सोमवार, मंसिर १०, २०७५

तीन खेलका ६ टोली आमने–सामने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार (आज)बाट चौथो चरणका खेल हुँदैछन् । तेस्रो चरणको समाप्तिसँगै सोमबारबाट चौथो चरणका खेल हुन लागेको हो । जसअन्तर्गत सोमबार तीन वटा खेल हुँदै छन् ।

लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी र संकटाबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल बिहान ११ बजेटबाट सुरु हुनेछ । जारी प्रतियोगितामा अपराजित रहेको संकटाले तीन खेलमा शतप्रतिशत नतिजा निकालेको हो । त्यसैले पनि चौथो चरणको पहिलो खेलमा आर्मी विरुद्ध जितका लागि उ मैदानमा उत्रिने तयारीमा रहेको छ । यता आर्मी पनि पछिल्ला दुई खेलमा जित निकालेर लयमा फर्किएका कारण जितको खोजमा रहने हुँदा यी दुई टोलीबीचको खेल निकै नै संघर्षपूर्ण रहने देखिएको छ ।

लिग अन्तर्गत सोमबार नै हुने अर्को खेलमा सातदोबाटोस्थित एन्फा मैदानमै न्युरोड टिम एनआरटीले थ्रिस्टारको सामना गर्दैछ । जारी लिगमा जितको स्वाद चाख्न नसकेको एनआरटीले पछिल्ला दुई खेलमा हार ब्यहोरेको छ । उसका लागि थ्रिस्टार विरुद्धको खेल पनि निकै चुनौतीपूर्ण देखिन्छ ।  यता मनाङसँग पराजित भएको थ्रिस्टार फेरी लयमा फर्कन एनआरटीलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रनेछ । एनआरटीले पहिलो खेलमा बराबरी खेल्दा हात पारेको एक अंक नै उसको अहिलेसम्मको ठूलो उपलब्धि हो । थ्रिस्टारको भने तीन खेलबाट ६ अंक जोडेको छ ।

त्यस्तै सोमबार हुने तेस्रो खेलमा हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा च्यासल र पुलिस आमनेसामने हुनेछन् । प्रतियोगितामा तीन खेलमा एक जित एक बराबरी र एक हार ब्यहोरेको च्यासलको चार अंक छ । स्टार खेलाडीलाई अनुबन्ध गरेको च्याससले अन्तिम खेलमा ब्रिगेड ब्वाइजलाई पाँच एकले हराएको थियो । जुन उसको पहिलो जित थियो । यता पुलिस पनि अन्तिम खेलमा आर्मीसँग पराजित भएको थियो । लिगमा उसको र च्यासलको नतिजा समान रहेको छ । विभागीय टिम पुलिसले अझै पनि लय समात्न सकेको छैन् । यी दुई टिमको खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

ए डिभिजन लिग अन्तर्गत चौथो चरणसम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थामा रहेको छ भने संकटा क्लब दोस्रो स्थानमा छ । त्यस्तै हिमालयन शेर्पा तेस्रो स्थानमा छ भने विभागीय टोली आर्मी चौथो स्थानमा छ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख नगद राशि पाउनेछ भने उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।