ए डिभिजन लिग: तेस्रो चरणको समाप्ति, चौथो चरणका खेल सोमबारदेखि

title
आइतवार, मंसिर ९, २०७५

मनाङ र संकटा क्रमशः पहिलो र दोस्रो स्थानमा
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत तेस्रो चरणका खेलहरुको पनि समाप्ति भएको छ । तेस्रो चरण सम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले मात्र लगातार तीन खेलमा जित हात पार्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् ।

सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको दोस्रो खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबमाथि २–१ गोलको जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । अहिले सम्म २ खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पाले ७ अंक जोड्दा ७ अंक भएको आर्मी चौथो स्थानमा छ ।

शेर्पा र जावलाखेलबीचको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । शेर्पाले शुरुदेखिनै पाएका मौका सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुकेको थियो । जाउलाखेलले पनि सुरुवातमा पाएका दुई मौका चुकाउन पुग्यो । खेलको ६६ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । विश्वास श्रेष्ठको प्रहार डिफ्लेक्ट भएर आएको बललाई कर्णले गोलमा परिणत गरे । त्यसपछि ७५ औं मिनेटमा फेरी कर्ण लिम्बुले नै गोल गर्दै अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा शेर्पाले फेरी अर्को मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।

खेलमा दुई शुन्यले पछि परेको जाउलाखेलले ८६ औं मिनेटमा एक गोल फर्कायो। शेर्पाका गोलकिपर र डिफेन्डरको तालमेल नमिल्दा जाउलाखेलका अनिश गुरुङले गोल गरेका थिए । खेलको अन्तिममा पनि जाउलाखेलले गोल उत्कृष्ट मौका खेर फाल्दा हार ब्यहोर्यो ।

यसअघि शनिबारनै भएको पहिलो खेलमा सरस्वतीले फ्रेण्ड्स क्लबलाई ३–० ले हराउँदै लिगमा पहिलो तीन अंक जोडेको छ । यसअघिका दुबै खेलमा सरस्वती पराजित भएको थियो । एपीएफ मैदानमा भएको खेलमा सरस्वतीलाई जित दिलाउनका लागि तीनैवटा गोल विदेशी खेलाडीले गरेका थिए ।

सरस्वतीको जितमा तीन विदेशी खेलाडी भिक्टर, फ्रान्सिस र इब्राहिमले गोल गरे । पहिलो हाफमा १–० को लिएको सरस्वतीले दोस्रो हाफमा २ गोल थप्न सफल भयो । सरस्वतीले खेलको १३औं मिनेटमा भिक्टरको गोलबाट अग्रता बनाएको थियो । गोलरक्षक प्रदिप भन्डारीले फालेको बललाई भिक्टरले गोलमा परिणत गरेको थिए । त्यसअघि १३औं मिनेटमा फ्रेन्डस्ले गोल गर्ने मौका खेर फालेको थियो ।

सनिस श्रेष्ठको क्रसमा प्रेजेन तामाङको हेडरलाई गोलरक्षक प्रदिपले बचाएका थिए । खेलको तेस्रो मिनेटमा पेनाल्टी एरियाबाट किरण बोहराले निकै फितलो प्रहार गरे । ११औं मिनेटमा रुमेश बर्तौलाको क्रसलाई धिरज श्रेष्ठले भेट्न सकेनन् । २४औं मिनेटमा फाफनाको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिएको थियो । सरस्वतीले २६औं मिनेटमा अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो । दिपेश श्रेष्ठको क्रसमा अनमार्क रहेका फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मदले बचाएका थिए । रिवाउन्डमा भिक्टरको प्रहारललाई पनि गोलरक्षकले विफल पारिदिएका थिए । ३८औं मिनेटमा फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मद करिमले बचाएका थिए ।

दोस्रो हाफको ७३औं मिनेटमा फ्रान्सिसले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर पार्यो । दिपेश श्रेष्ठलाई लडाएपनि रेफ्रीले एडभान्टेज दिदा फ्रान्सिसले सहजै गोल गरेका थिए । ८३औं मिनेटमा इब्राहिमले गोल गर्दै सरस्वतीलाई ३–० को सहज जित दिलाए । कर्नरमा आएको बललाई फ्रान्सिसले दिएको पासलाई इब्राहिमले गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा फ्रेन्डस्ले गतिलो आक्रमण बुन्न सकेन । तेस्रो चरणको खेल सकिँदा सरस्वतीले ३ अंक जोड्दा फ्रेन्डसले अंकको खाता खोल्न सकेको छैन । सरस्वतीका भिक्टर खेलको म्यान अफ दि म्याच घोषित भए । चौथो चरणका खेल आउँदो सोमबारदेखि हुनेछन् ।