ए डिभिजन लिग : पुरस्कार घट्यो, सुविधा बढ्यो

title
सोमवार, अशोज १, २०७५

विजेतालाई मात्र ५० लाख पुरस्कार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो असोज १३ गतेबाट शुरु हुने ए डिभिजन लिग फुटबलको पुरस्कार तथा सुविधाका विषयमा जानकारी गराएको छ । झण्डै पाँच वर्षको अन्तरालमा पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिगको विजेताको पुरस्कार राशि घटाइएको भए पनि सुवधिा बढाइएको एन्फाले जनाएको छ ।

अब लिग विजेताले ५० लाख पुरस्कार पाउनेछन् । यो रकम गत संस्करणको भन्दा कम हो । पछिल्लो पटक २०७० सालमा भएको शहीद स्मारह ए डिभिजन लिगेको विजेतालाई ७५ लाख पुरस्कार प्रदान गरिएको थियो भने यो वर्षको विजेताले २५ लाख कम गरी ५० लाख मात्र प्रदान गरिने छ ।

ए डिभिजन लिगको कुल बजेट ५ करोड रुपैयाँको हुनेछ । एन्फाले यसपटक पुरस्कार राशि घटाउने तर, अन्य सुविधा तथा प्रोत्साहन पुरस्कार बढाउने निर्णय एन्फाले गरेको हो । विजेताले मात्र पुरस्कार पाउने भन्दा पनि अन्य टोलीले पनि रकम प्राप्त गरुन् भन्नका लागि समानताका आधारमा पुरस्कार राशि तोकिएको एन्फा प्रवक्ता किरण राईले बताए । एन्फाले १४ ए डिभिजन टोलीलाई तयारी वापत २० लाख रुपैयाँ दिने भएको छ । त्यस्तै लिगको हरेक खेलको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरीमा टुंगिएको खेलमा दुवै टोलीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१४ औं स्थानमा लिगको अन्त्य गर्ने टोलीको अर्को वर्षका लागि २ अंक घटाउने र तयारी खर्चको ३ लाख रुपैयाँ पाउने छैन । त्यस्तै १३ औं स्थानमा आउने टोलीको हकमा अर्को वर्षका लागि १ अंक घटाउने र तयारी खर्चमा २ लाख रुपैयाँ नपाउने भएको छ ।

यसले म्याक्स फिक्सिङलाई निरुत्साहित बनाउने लिग सञ्चालक समितिका संयोजक विज्ञानराज शर्माले बताए । लिगको अनुशासित टोलीले १ लाख रुपैयाँ पाउनेछ भने विधागत रुपमा उत्कृष्ट (गोलकिपर, डिफेन्स, मिडफिल्ढ, फरवार्ड) र प्रशिक्षकले मोटरसाइकल प्राप्त गर्नेछन् । लिगको विजेताले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

लिगका लागि एन्फाले ५ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यसका लागि फिफा फरवार्ड फुटबल डेभलप्मेन्ट कार्यक्रम अन्तर्गत ए,बी,सी डिभिजन लिग सञ्चालका लागि ६ लाख ८८ हजार अमेरिकी डलर प्राप्त भएको एन्फाले जानकाएको छ । रेलिगसेन विनाको यसपटकको लिगमा ९१ खेल हुनेछन् ।

यसपटक लिगमा छैटौं स्थानसम्म बनाउने टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको एन्फाले जनाएको छ । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौं हुनेले ७ लाख र छैटौं हुनेले ५ लाख पुरस्कार पाउनेछन् । एन्फाले लिग फुटबलमा पहिलो पटक हरेक खेलको विजेता टोलीलाई ५० हजार छुट्टै पुरस्कारको व्यवस्था गरेको छ ।

हरेक खेल जितेपछि विजेता टोलीलाई ५० हजार प्रोत्साहन पुरस्कार दिइनेछ । ए डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहनेछ । त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ गरी तीन बिभागीय, मनाङ, थ्रीस्टार, एनआरटी, सरस्वती, फ्रेण्ड्स, जावलाखेल, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, च्यासल र व्रिगेड व्वाइज क्लव छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपीएफको मैदानमा लिगका खेलहरु सञ्चालन हुनेछ ।