ए डिभिजन लिग विजेतालाई ५० लाख

title
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज १३ गतेदेखि सुरु गर्न लागेको शहीद स्मारक ए डिभिजन लिगको विजेतालाई ५० लाख रुपैयाँ पुरस्कार दिने जनाउके छ । अखिल नेपाल फुटबल संघले करिव पाँच वर्षको अन्तरालमा ए डिभिजन लिग फुटबल आयोजना गर्न लागेको हो । एन्फाको लिग समितिले पुरस्कार सम्बन्धी व्यवस्थालाई अन्तिम रुप दिएको छ ।

‘ए’ डिभिजन लिगको कुल बजेट ५ करोड रुपैयाँको हुनेछ । एन्फाले यसपटक पुरस्कार राशी घटाउने तर, अन्य सुविधा तथा प्रोत्साहन पुरस्कार बढाउने निर्णय गरेको छ । पछिल्लो पटक बिक्रम सम्वत् २०७० सालमा सञ्चालन भएको ए डिभिजन लिगमा विजेताले ७५ लाख पुरस्कार पाएका थिए भने २०७१÷७२ सालमा भएको राष्ट्रिय लिगका विजेताले १ करोड पुरस्कार पाएका थिए । यसपटक लिगमा छैटौं स्थानसम्म आउने टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

एन्फा स्रोतले दिएको जानकारी अनुसार विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौं हुनेले ७ लाख र छैटौं हुनेले ५ लाख पुरस्कार पाउनेछन् । एन्फाले लिग फुटबलमा पहिलो पटक हरेक खेलको विजेता टोलीलाई ५० हजार छुट्टै पुरस्कारको व्यवस्था गरेको छ ।

हरेक खेल जितेपछि विजेता टोलीलाई ५० हजार प्रोत्साहन पुरस्कार दिइनेछ । ए डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहनेछ । त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ गरी तीन बिभागीय, मनाङ, थ्रीस्टार, एनआरटी, सरस्वती, फ्रेण्ड्स, जावलाखेल, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, च्यासल र व्रिगेड व्वाइज क्लव छन् । प्रतियोगिता सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपीएफको मैदानमा खेलाइनेछ ।