‘ए डिभिजन लिग’ समापन आज, इतिहास रच्ने दाउमा मनाङ

title
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग मंगलबार सकिंदैछ । मंगलबार दुई खेल हुनेछन् भने खेलपछि विजेता टोलीलाई उपाधिसहित पुरस्कार प्रदान गरिनेछ । दुई खेल अगावै मनाङ मस्र्याङ्दीले उपाधि आफ्नो पोल्टामा पारेको थियो भने एक खेल अगावै संकटा क्लब दोस्रो बन्न सफल भयो । त्यसैगरी लिगको विजेता बन्ने धोको बोकेको थ्रिस्टारले भने अन्तिम खेलमा जित हात पार्दै तेस्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगिता अन्तर्गत मंगलबार एनआरटी र ब्रिगेड ब्वाइजबीचको खेल हुनेछ भने अर्को खेलमा लिगमा अहिलेसम्म अपराजित यात्रा कायम राखेको मनाङ अन्तिम खेलमा फ्रेण्डस्विरुद्ध मैदानमा उत्रिनेछ । लिग च्याम्पियन बनिसकेको मनाङ यो खेलमा पनि जित हात पार्दै इतिहास रच्ने दाउमा देखिनेछ । खेल एन्फा मैदानमा हुनेछ । सो खेलपछि पुरस्कार प्रदान गरिनेछ ।

यसैबीच प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम खेलमा लिगमा दोस्रो स्थान बनाउन सफल संकटा विभागीय टोली एपीएफसँग पराजित भयो । ए डिभिजन लिगमा ३३ बर्षपछि दोस्रो स्थान हासिल गरेको संकटले लिगको अन्त्य भने हारका साथ गरेको छ । सोमाबर भएको खेलमा संकटा विभागिए टिम एपीएफसँग दुई एकले पराजित भयो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा संकटा अन्तिम खेलमा पनि जीत निकालेर खुसीका साथ लिगको अन्त्य गर्ने मनसायमा थियो । तर त्यसमा एपीएफ बाधक बन्यो । निकै रोमाञ्चक बनेको खेलको २४ औं मिनेटमा एपीएफका युवराज खड्काले काउन्टर अट्याकमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

जुन अग्रता एपीएफले पहिलो हाफसम्म कायम राखेको थियो । ७१ औं मिनेटमा एपीएफले खेलमा अन्तर दुई शुन्यमा पु¥यायो । यसपटक उसकालागि राजन गुरुङले राजेन्द्र रावलको फ्रिकिकमा सुन्दर गोलगरे । खेलमा दुई गोलले पछि परेको संकटाले इन्जुरी समयको तेस्रो मिनेटमा एक गोल फर्कायो । उसका लागि लक्ष्मण रुचालले गोल गरे । लिगको इतिहासमा ३३ बर्षपछि ऐतिहासिक स्थान हात पारेको संकटाले अन्तिम खेलमा पनि सुखद नतिजा भने निकाल्न सकेन ।

तरपनि युवा खेलाडीले दिलाएको सफलताले संकटा टिम निकै खुसी भने देखिएको छ । संकटाले १३ खेलमा २८ अंकका साथ लिग टुंग्याएको छ । ए डिभिजन लिगको सामापनसँगै एन्फाले चाँडै ‘बी’ डिभिजन लिगको तयारी गर्नेछ । सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ अन्तिम साताबाट सुरु हुने एन्फाले जानकारी दिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग माघ २५ गतेबाट सुरु हुने जनाएको हो ।

‘बी’ डिभिजन लिगका १२ क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् । एन्फाले ‘बी’ डिभिजन लिगको खेल तालिका भने सार्वजनिक गरेको छैन । तर, १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । एन्फाले निकालेको समूह विभाजन अनुसार समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी , श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब,बोइज युनियन क्लब रहेका छन् । समूह ‘बी’ टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।