नेदरल्याण्ड्सविरूद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट आज, नेपालको प्रदर्शन रहला ?

title
बुधबार, साउन १६, २०७५

काठमाडौं । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा पाएको सफलतासँगै नेपाली टोली बुधबार नेदरल्याण्ड्ससँग ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोलीले यो खेलमा जित हासिल गर्ने लक्ष्य लिएको छ ।

गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको नेपाली टोलीले संयुक्त रुपमा उपाधि जितेको थियो । नेपाली टोलीको अबको एउटै मात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट जित्नु रहेको छ । त्यसका लागि नेपाली टोली विश्वस्त पनि बनेको छ । आइतबारको खेलमा राम्र लय समातेका कारण एक दिवसीय खेलमा पनि राम्रै प्रदर्शन रहने अपेक्षा गरिएको छ ।

आइतबार भएको खेलमा नेपाल र नेदरल्याण्ड्सले एक–एक खेलमा जित हात पारेपछि संयुक्तरुपमा उपाधि जितेका थिए । उक्त दिन नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो । त्यसो त नेपाली टोलीको ब्याटिङभन्दा बलिङ पक्ष निकै नै राम्रो छ । नेपाली टोलीमा रहेका सन्दीप लामिछाने, बसन्त रेग्मी, करन केसी र सोमपाल कामी उत्कृष्ट बलर हुन् । पछिल्लो समय नेपाली टोलीमा व्याटिङ पक्ष पनि सुधारोन्मुख छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, अनिल शाहको व्याटिङ पक्ष मजबुद रहेको छ । खेलमा नेपाली टोलीको जित ब्याटिङभन्दा पनि बलिङ मै निर्भर रहने देखिन्छ ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

यसैबीच नेपाली क्रिकेटलाई एकदिवसीय मान्यताको ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पु¥याएका कप्तान खड्काले अन्तर्राष्ट्रय क्रिकेट काउन्सिल आईसीसीसँगको अन्तवार्ताका क्रममा नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय खेल्न पाउनु लामो समयको परिश्रम र प्रतीक्षापछि हासिल गरेको सफलताको रुपमा लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी रहको बताए ।

उनले यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य रहेको समेत बताए । नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्यपि वर्षाका कारण त्रिकोणात्मक सिरिजको अन्तिम नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको थियो ।

नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो । उसलाई होम ग्राउण्ड भएका कारण केही सजह देखिन्छ । दर्शकको समर्थन पनि उत्तिकै रहने भए पनि नेपाली टोलीले पनि उच्च मनोबल बनाएका छन् ।

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।