ऐतिहासिक एक दिवसीय जित्नु नेपालको प्रमुख लक्ष्य

title
मङ्लबार, साउन १५, २०७५

काठमाडौं । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा आइतबार मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको नेपाली टोलीले अब नेदरल्याण्डसँगै एतिहासिक अन्तिर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दैछन् ।

आगामी बुधबार र शुक्रबार हुने खेलका लागि नेपाली टोली एक दिवसीय खेलका लागि केन्द्रित बनेको छ । नेपाली टोलीको अबको एउटै मात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट जित्नु रहेको छ । त्यसका लागि नेपाली टोली विश्वस्त पनि बनेका छन् । आइतबारको खेलमा राम्र लय समातेका कारण एक दिवसीय खेलमा पनि राम्रै प्रदर्शन रहने अपेक्षा समेत गरिएको छ ।

आइतबार भएको एक–एक खेलमा जित हात पारेका नेपाल र नेदरलाण्ड त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका थिए । मेरिलिवोन क्रिकेट क्लब (एमसीसी)लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका थिए । तर नेपाल र नेदरल्याण्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

यसैबीच नेपाली क्रिकेटलाई एकदिवसीय मान्यताको ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पु¥याएका कप्तान खड्काले अन्तर्राष्ट्रय क्रिकेट काउन्सिल आईसीसीसँगको अन्तवार्ताका क्रममा नेपालले एक दिवसीयको मान्यता पाउनु लामो समयको परिश्रम र प्रतीक्षापछि हासिल गरेको सफलताको रुपमा लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी रहको बताए ।

उनले आठ वर्षअघि आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्दै गरेको अवस्थालाई सम्झिदै अहिले विश्वका उत्कृष्ट १६ राष्ट्रको माझमा आइपुग्नु नेपाली क्रिकेटका लागि निकै नै ठूलो उपलब्धि रहेको बताए । उनले यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य रहेको समेत बताए ।

उनले भने– ‘नेदरल्याण्ड्सविरुद्धको खेलमा हाम्रो क्षमता देखाउने मौका पाउँदैछौँ । साथसाथै पहिलो अनुभवमा रमाउन र राम्रो प्रदर्शन गर्नका लागि प्रयास गर्नेछौं ।’ त्यस्तै १७ वर्ष राष्ट्रिय टोलीबाट खेलेका नेपाली स्पिनर शक्ति गौचनले नेपाली क्रिकेटको विकासका लागि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याष लिने घोषणा गरेको समेत बताएका छन् ।