ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोली

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टोली विहीबार इंग्ल्याण्ड प्रस्थान गर्ने भएको हो । बुधबार एक कार्यक्रमबीच टोलीको सफलताको शुभकामना दिँदै बिदाइ गरिएको छ । काठमाडौंमा भएको कार्यक्रममा क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र क्रिकेट खेलाडी संघले बिदाइ गरेका हुन् ।

करिब एक महिनादेखि अभ्यासपछि नेपाली टोली विहीबार त्यसतर्फ जान लागेको हो । नेपालले एमसीसी र नेदरल्यान्डसँग ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नछ ।

त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र ३ मा एक दिवसीय क्रिकेट हुनेछ । नेपाली टोली सदस्य शक्ति गौचनले त्यही नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

कप्तान पारसले शक्तिको योगदानको चर्चा गर्दै उनले घरेलु मैदानमा अन्तर्राष्ट्रय खेलमार्फत विदाई खेल खेल्ने चाहेको बताएका छन् । ‘आफू भन्दा राम्रो खेलाडी आएको दिन सन्यासको घोषणा गर्छु भन्ने यसअघि भनेको थिए,’ उनले भने, ‘अब त्यो समय आएको छ । नयाँ पुस्ताको खेलाडी तयार भइसकेको छ ।’

उनले अगाडी भने, ‘मैले एक दिवसीय खेलेर सन्यास लिदैछु, नयाँ आउने खेलाडीले टेस्ट खेलेर सन्यास लिने दिन देख्न पाइयोस् ।’ पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो । टोली बिहीबार बेलायत प्रस्थान गर्नेछ । टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् ।

यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले टोलीमा छन् । त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

छनोट समितिले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । यो टोलीमा सुवास खकुरेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । करिब ३ वर्षदेखि नेपाली टिम बाहिर रहेका सुवासले लामो समयपछि पुनरागमन गर्दै टिममा स्थान बनाएका हुन् ।

सुवासले पछिल्लो समयमा सन् २०१५ नोभेम्बरमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनीसँगको खेलमा खेलेका थिए । त्यसयता सुवास नेपाली टिम बाहिर रहेका भएपनि सुवासले धनगढी प्रिमियर लिग र प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा उच्च प्रदर्शन गरेका थिए । त्यसो त नेपाल र नेदरल्यान्डले पाँच महिनाअघि मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका थिए ।