ओमानबिरुद्ध नेपालको शानदार जित

title
मङ्लबार, बैशाख ३, २०७६

काठमाडौ । मलेसियामा जारी आईसीसी अण्डर नाईन्टीन एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटिएको थियो ।

ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३÷१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २ र २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए ।

अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए । ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २/२ विकेट लिए । ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ । दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ ।

नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा भने युएईसंग डकवर्थ लेविस डिएल पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा बिहीबार कुवेतसंग खेल्नेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।