ओलम्पिक छनोटमा नेपालको अबको यात्रा कस्ताे ?

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्किंदैछ । नेपाली टोली बिहिबार अपरान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार नेपाली टोली मालिन्डो एयरलाइन्सबाट अपरान्ह १२ः२० मा नेपाल आइपुग्ने छ ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एसिया छनोटको अन्तिम खेलमा मंगलबार बंगलादेशसंग १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा छनोट भएको थियो । नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो । किनकी नेपाली समूह चरणका तीन वटा खेल मध्ये एउटामा पनि जित हासिल गर्न सकेन तीन वटै खेलमा समान १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।

बंगलादेशसंगको बराबरीसंगै समूह ’सी’ मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको थियो । र, नेपाल समूहको तेस्रो स्थानमा रहन सफल भएको थियो । समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो । छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।

यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । मंगलबार भएको खेलमा म्यानमारले भारतलाई २–१ ले पराजित गरेको थियो । बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।

अबको यात्रा ? 
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो २०२० को छनोट प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको थियो । ओलम्पिक छनोटमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको नेपालमाथि कमैले दोस्रो चरणमा प्रवेश गर्छ भन्ने अपेक्षा राखेका थिए । झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको नेपाली टोली प्रतियोगितामा अपराजित रह्यो ।

नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १–१ को बराबरी खेल्यो । सबै खेलमा नेपालले अग्रता पनि लिएको थियो । समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपाल सम्मिलित समूह सी बाट म्यानमार समूह विजेताको रुपमा अगाडी बढेको छ । पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको आयोजक म्यानमारले दोस्रो खेलमा नेपालसँग १–१ को बराबरी खेल्यो । अन्तिम खेलमा मंगलबार भारतलाई २–१ ले हराउँदै म्यानमार ३ खेलमा ७ अंकसहित समूह विजेता बनेको हो ।

यता नेपालसँग १–१ को बराबरी खेल्दै प्रतियोगिता सुरुवात गरेको भारतले दोस्रो खेलमा बंगलादेशलाई ७(० ले पराजित गर्दै ३ खेलमा ४ अंकसहित दोस्रो स्थान हासिल ग¥यो । नेपाल ३ खेलमा ३ अंक जोड्दै तेस्रो र बंगलादेश १ अंकसाथ चौथो भयो ।

समूह ए बाट चाइनिज ताइपेइ र फिलिपिन्स अगाडी बढ्दा समूह बी बाट इरान् र हङकङले दोस्रो चरणमा स्थान सुरक्षित गरे । समूह डी बाट जोर्डन र इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन् । यसै समूहको अन्तिम खेलमा प्यालेस्टाइन र माल्दिभ्स भिड्ने छन् । यस खेलको विजेताले उत्कृष्ट तेस्रो टोलीमा पर्दै अन्तिम चरणमा स्थान बनाउनेछन् ।

अब छनोट भएका यो १० टोलीले उज्बेकिस्तान र भिएतनामसहित दोस्रो चरणको छनोट प्रतियोगिता खेल्नेछन् । सन् २०१९ अप्रिल पहिलो साता तोकिएको उक्त प्रतियोगितामा तीन समूह हुनेछ । प्रत्यक समूहको शीर्ष टोलीले छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् ।

छनोटको तेस्रो चरणमा यी तीन राष्ट्रले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाईल्यान्डसँग खेल्नेछन् । त्यस प्रतियोगिताबाट दुई टोली ओलम्पिकमा छनोट हुनेछन् ।