कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चल्यो, ४ जना घाईते

title
बिहिबार, भदौ ७, २०७५

चन्द्रकान्त जोसी, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डमा प्रहरीले बास्तविक दोषिलाई उन्मुक्ति दिएको भन्दै स्थानीयवासीले गरेको प्रदर्शनमा गोली चलेको छ ।

प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रु ग्यास सहित गोली चलाउदा ४ जना सर्वसाधारण घाइते भएका छन । प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाउँदा १८ वर्षीय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे र सन्तोष कठरिया घाइते भएका छन ।

उनिहरुको महकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गोली चलाएपछि कञ्चनपुर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भाँसी, सिसैया, दैजी लगायतका स्थानमा टायर बाल्दै चर्का नाराबाजी गरिरहेका छन । आन्दोलन चर्कंदै गएपछि कैलालीबाट पनि थप सुरक्षाकर्मी कञ्चनपुर पठाएको स्थानीय प्रशासनले जनाएको छ ।

आन्दोलनका कारण कञ्चनपुरमा बजार, शिक्षण संस्था यातायात ठप्प छन्। प्रहरीले निर्मलाको बलात्कार र हत्यामा संलग्न भएको भन्दै मानसिक सन्तुलन गुमाएका स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि दोषीलाई उन्मुक्ति दिन प्रहरी नै सक्रिय भएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएका हुन ।

भिमदत्तनगर नपालिकाकी १३ बर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।