‘कथा काठमाडू’ चर्चा बढी कि आलोचना ?

title
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं । सञ्चारकर्मी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमाडू’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ‘कथा काठमाडू’ पछिल्लो समय चर्चामा छ । रातको कुरा, त्यसपछि जुन अनि तारालाई र अहिले ट्रेलरका कारण चलचित्र चर्चित सँगै आलोचित समेत बनेको छ ।

चलचित्र निर्माण युनिटले अहिले चलचित्रको प्रचार प्रसारलाई आक्रामक बनाएको छ । चलचित्र आगामी असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाउँदै मोफसलका दर्शकसँग साक्षात्कार गर्न शुक्रबारबाट मोफसल यात्रामा निस्किदैछ ।

भाद्र २२ बाट शुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी, धरान, दमक, हेटौडा, नारायणगढ, बुटवल, दाङ र पोखरा लगायतका सहरमा पुगेर फिल्मको बारेमा जानकारी गराउनेछ । युनिट मोफसल टुर अन्तर्गत नै पथरी, धरान, चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ ।

निर्देशक संगीता श्रेष्ठले फिल्म भिन्न भिन्न तीन कथालाई अगाडि ल्याउने कोसिस गरेको बताइन् । यो चलचित्रले मनोरञ्जन मात्र नभई एउटा संदेश पनि दिने निर्माण पक्षलको दाबी छ । काठमाडौंलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

एकपछि अर्को गर्दैै चलचित्रका बोल्ड सिन सार्वजनिक भइरहेका बेला पूरै चलचित्र कस्तो बनेको होला भन्ने दर्शकमा एकातर्फ कौतुहलता उब्जिएको छ भने अर्कोतिर चलचित्रका अपाच्य सिनका कारण आलोना पनि उत्तिकै भइरहेको छ ।

चलचित्रका सार्वजनिक सिनहरुका विषयमा बचाउ गर्दै निर्माण पक्षले भने कथाले मागे अनुसारकै क्यारेक्टर पस्किएको दाबी गर्दै आएको छ । ‘कथा काठमाण्डौं’मा तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको छ । ‘लष्ट, लभ र लाइभ’लाई उठान गरेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् ।