कम्युनिष्टहरुले नै कम्युनिष्टको बद्नाम गरेको वैद्यको आरोप

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सत्तामा रहेका आफूलाई कम्युनिस्ट भन्नेहरुले कम्युनिस्टलाई बदनाम गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बैद्यले अहिले कम्युनिस्टलाई बदनाम गर्ने काम भएको भन्दै यसलाई चिर्न सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता आवश्यक रहेको समेत बताउनुभयो । सरकार बाहिर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरणका लागि छलफल भइरहेको उहाको भनाई छ ।

उहाले तत्काल छलफल गर्दै मुद्दा मिल्ले विषयमा कार्यगत एकता गर्दै अगाडि बढ्नुपर्ने र एक हुने अभियान सुरु गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले अहिले ‘कम्युनिस्ट’हरु सरकारमा रहेको अवस्थामा जनताको अवस्था झन विग्रिएको टिप्पणी समेत गर्नुभयो ।

त्यस्तै नेकपा मालेका महासचिव सिपी मैनालीले चुनावपछि देशमा कम्युनिस्टको नाममा विगविगी बढेको बताउनुभयो । सत्तारुढ दलले आफूलाई कम्युनिस्ट भने पनि उनीहरु कम्युनिस्ट नभएको उहाको भनाई छ ।

कार्यक्रममा गोपाल किरातीले विचार, भावना र इतिहासको निरन्तरताको लागि माओवादी केन्द्रको पुनःगठन गर्नु परेको बताउनुभयो भने नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य पदम राईले वैद्यको नेतृत्वमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एक जुट हुनुपर्ने बेला आएको धारणा राख्नुभयो ।