करको विषयमा नमिलेका र अस्पष्ट समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री

title
बिहिबार, चैत्र २८, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले करको विषयमा नमिलेका र अस्पष्ट रहेका केही विषयलाई समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

आज(बिहिवार) काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा करमा केही समस्या देखिएको भन्दै यो विषय आग्रह पूर्वाग्रहका रुपमा लिन नहुने र सरकारले यसलाई समाधान गर्ने बताउनुभएको हो ।

नेपालमा लगानीको वातावरण कति बनेको छ भन्ने लगानी सम्मेलनले नै पुष्टि गरेको भन्दै उहाँले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मा काम गर्न इच्छुक रहेकाले यसका लागि निजी क्षेत्रभन्दा सरकार बढी उदार रहेको जिकिर गर्नुभयो ।

अधिकार, अवसर, सहुलियत, वातावरण सबै दिने पक्षमा सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई एक अर्काको खुट्टा तान्ने काममा नलाग्न पनि आग्रह पनि गर्नुभयो ।