जोखिमपूर्ण बन्दैछ कलंकी-कोटेश्वर सडक, ६ महिनामा ६५० को ज्यान गयो

title
शनिबार, बैशाख २८, २०७६

सिर्जना मिश्र । ५ बर्ष लगाएर बनाइएको ८ लेनको कलंकी – कोटेश्वर सडक हेर्दामा नेपालकै उत्कृष्ठ भएको सरकारी अधिकारीहरु बताउछन ।

यो सडक खण्डमा ६ महिना अघिसम्म पट्यारलाग्दो जाम र धुलो पिरलो खेपेको सर्वसाधारण अहिले उत्साहित छन । तर चिल्लो र फराकिलो सडकमा अनियन्त्रित गतिमा गुड्न थालेका सवारी साधनले दुर्घटना बढाएका छन । अझ सडकका आवश्यक अन्य पूर्वाधार नहुदा यो सडक यतिबेला ज्यानमारा सावित हुदै गएको छ । सडक अवस्थाले विदेशी मुलुकका सडकको झल्को दिएपनि आवश्यक मात्रामा ट्राफिक लाइट तथा सडक चिन्ह नहुँदा यात्रुहरु जोखिम मोल्न बाध्य छन ।

यसको सबैभन्दा बढी मारमा पैदलयात्री र स्थानीय सर्वसाधारण परेका छन । सडक प्रयोगमा आएयता भएका झण्डै ८ सय वटा दुर्घटनामा ६ सय ६० जनाले ज्यान गुमाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए ।

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको यो सडक ८ लेनको छ । जहाँ २० देखि ५० किलोमिटरसम्म प्रति घण्टाको दरले सवारीसाधन गुड्न सक्ने गरीको डिजाइन गरिएको छ । तर मध्य शहरमा निर्माण गरिएको सडकको डिजाइन नै द्रुत गतिको हुनु कमजोरी भएको विज्ञहरु बताउछन ।

सडकमा आवश्यक पर्ने चिन्ह, जेब्रा क्रस, टाफिक लाइट, आकाशे पुल जस्ता पूर्वाधार नहुँदा दुर्घटनाको जोखिम अझ बढेको सडक विभागले समेत स्विकारेको छ । यद्यपी पर्याप्त बजेट नभएकाले तत्काललाई दुई चरणमा काम भइरहेको विभागका सडक विभाग प्रमुख दीप बाराहीले बताए ।

हाल चक्रपथमा ३ वटा आकाशे पुलहरु निर्माण भएका छन् । जुन चिनिया सरकारकै देन हो । बाँकी पुलको सुरसार छैन । बजेट नहँदा बाँकी पुलका लागि समेत सरकार दातृ निकायको पर्खाइमा छ । ठूला योजनाका लागि नागरिकको धैर्यता स्वाभाविक भए पनि जेब्रा क्रसिङ तथा सडक चिन्हजस्ता सानातीना कार्यका लागि भइरहेको सरकारी उदासिनता जनताको ज्यानप्रतिको खेलबाड हो ।