कलंकी चोकको ‘अन्डर पास’ को निर्माण सम्पन्न, केही दिनमै सञ्चालनमा अाउने

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौ । काठमाडौंको कलंकी चोकमा जाम घटाउनका लागि निर्माण गरिएको अन्डर पास’ को निर्माण सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका भित्रिने प्रमुख मार्ग रहेकाले अत्यन्तै जाम हुने कलंकीमा जमिनमाथि र मुनीबाट सवारी चलाउन अन्डर पास सडकको निर्माण गरिएको हो । केही दिनमै यो सडकको औपचारिक शुभारम्भ गरिने तयारी गरिएको छ ।

चीन सरकारको सहयोगमा बनेको अन्डर पासको निर्माण कार्य २०७४ को पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र नाकाबन्दीका कारण लम्बिएको थियो । चक्रपथ विस्तार आयोजनका अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम भने बाँकी छन् ।

यसअघि असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो ।

अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दाबी गरेको छ ।