कलंकी–नागढुंगा सडकको बिजोग

title
शनिबार, चैत्र १६, २०७५

शान्ता दनुवार । ठेकेदारको लापर्वाहीका कारण कलंकी–नागढुगां सडकखण्ड लामो समय देखि अस्तव्यस्त छ । समयमै बाटो नबन्दा धूलो र धूवाँले सडक आसपासका सर्वसाधारण दिग्दार बनेका छन् ।

२०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडक २०७४ असोज मसान्त भित्रै सम्पन्न भईसक्नुपर्ने शर्त थियो । त्यसोत, तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइको पालामा सुरु भएको सडक विस्तार अभियान अन्तर्गत् भत्काइएका पूर्वाधार व्यवस्थापनसंग जोडीएको विवाद नमिल्दा कलंकी–नागढुगां सडक बर्षौंदेखि अस्तव्यस्त छ ।

स्थानियको मुआब्जा बिवादका विषयमा सर्वोच्च अदालत्ले दिएको पछिल्लो आदेशले सडक बिस्तार योजनालाई झनै प्रभावित् बनाएको हो । काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले शैलुङ कन्ट्रक्सनलाई दिएको ठेक्का सम्झौताको थपिएको अवधी आउँदो जेठ मसान्तमा पुनः सकिंदै छ ।

तर काम कछुवाको गतिमा भईरहेको छ । तै पनि आउँदो जेठ मसान्त भित्र सडक निमार्णको काम पुरा भईसक्ने दावी उपत्यका सडक विस्तार आयोजनाको छ । कलंकीदेखि नागढुगां सम्मको यो सडकको लम्वाई करिव साढे ९ किलोमिटर छ ।

तर सडकको स्तरउन्नती गर्ने नाममा वर्षौ सम्म अलपत्र छाड्दा यसले स्थानीयका साथै सडक प्रयोगकर्ता सबैलाई दिक्दार बनाएको छ । हिलो, धुलो जन्य समस्यासंगै दुर्घटना र सवारी जाम समेत बढेको छ ।

विशेषगरि काठमाडौ उपत्यका प्रवेशको लाईफ लाईन नै मानिने यो सडकबाट दैनीक सयौं मालवहाक साधन ओहोर दोहोर गर्छन् । लामो तथा छोटो दुरीका यात्रुवहाक सवारी साधनको संख्या पनि सयौं हुन्छ ।

तै पनि धूलो, धुवां, हिलो, खाल्डोले निम्त्याएको जोखीम प्रति सरोकारवाला सबै रमिते बनेका छन् । सडक फराकिलो पार्ने क्रममा रातारात आसपासका संरचना भत्काउन थालेपछि प्रभावित स्थानीयले मुआब्जा मागगर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि सुस्त काम झनै अस्तव्यस्त बनेको हो ।

यो समस्या समाधानका लागी स्थानीयको दवाव दिएपछि आयोजनाले सरकार गुहारेको थियो । लगत्तै गत साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले यो सडक बिस्तारको काम पूर्ववत् अघि बढाउने र यथास्थितिमा रहेको सडक सुधार गरि कालोपत्रे गर्न निर्देशन दियो ।

अहिले सोही अनुसारको काम भईरहेको र चांडै यो बिकराल अवस्था अन्त्य हुने दावी आयोजनाले गरेको छ ।